काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेन–जी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्नेगरी २३ बुँदे सहमतिको एक महिना चार दिन पुग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले राज्यले गरेको वाचा पूरा नगर्दा पीडितको पीडा थप बढ्दै गएको बताउनु भयो । उहाँले अबको एक महिनाभित्र उक्त सहमतिको लागि कार्ययोजना, बजेट र समयतालिका सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो । उहाँले घाइते र शहीद परिवारका लागि एकद्वार सेवा तुरुन्त सुचारु गर्न तथा घाइते तथा शहीदका परिवारलाई एउटै कामका लागि धेरै कार्यालय धाउन नपर्ने वातावरण निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले पीडितलाई भाषणको सहानुभूति नभई व्यवहारिक न्याय र सम्मान चाहिएको जिकिर गर्नुभयो ।





