इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित

लेबनानी सेनाले इजरायलद्वारा भइरहेका निरन्तरका आक्रमण र विद्यमान समझदारीको उल्लंघनका कारण दक्षिण लेबनानमा सेना परिचालन र विस्थापित बासिन्दाहरूको घर फिर्ती प्रक्रियामा गम्भीर अवरोध पुगेको जनाएको छ । सेनाद्वारा जारी विज्ञप्तिअनुसार इजरायली पक्षबाट विभिन्न क्षेत्रमा घरहरूको योजनावद्ध विनाश, गोलाबारी र मेसिनगन प्रहार भइरहेका छन् । यस क्रममा एक खानेपानी सुविधा केन्द्र ध्वस्त पारिएको र शताब्दीयौँ पुराना जैतुन (ओलिभ) का रूखहरूमा आगजनी गरिएको सेनाले उल्लेख गरेको छ । इजरायली सेनाले कफर तेबनित, नबतियाह अल–फौका र जावतार अल–गर्विया लगायतका स्थानमा लेबनानी सैन्य पोस्टहरू नजिकै गोलीबारी गरेको र यसले सेनाको कार्यसम्पादनमा व्यवधान पु¥याएको बताइएको छ । यद्यपि, प्रतिकूल परिस्थितिका बाबजुद सेनाले जावतार अल–गर्वियामा स्थानीयको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको जनाएको छ । सेनाले लेबनानका लागि सैन्य समन्वय समूहसँगको समन्वयमा फ्रोन र सरिफा क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । एक महिनाअघि वासिङ्टनमा सम्पन्न लेबनान–इजरायल सम्झौताको पाइलट परियोजनाअन्तर्गत जावतार अल–गर्वियाका बासिन्दाहरू आफ्ना घरको अवस्था बुझ्न त्यहाँ पुगेका छन् ।
स्थानीय मारवान हरिबीकाअनुसार जावतारको आधा भाग अझै पनि कब्जामा रहेको र इजरायली सेनाले घरका विद्युतीय उपकरण र अन्य सामग्री लुटेर लगेका छन् । इजरायली सेना फिर्ता भएको दाबी गरिए पनि क्षेत्रमा अझै सैन्य सवारीसाधनहरू देखिने गरेको बताउनु भयो ।
दक्षिण लेबनानका दुई क्षेत्रमा लेबनानी सेना परिचालन गर्ने व्यवस्था गरिएको उक्त सम्झौतालाई विद्रोही समूह हिजबुल्लाहले भने अस्वीकार गरेको छ । हिजबुल्लाहले यो सम्झौतालाई अस्तित्वहीन भन्दै यसका प्रावधानहरूले लेबनानको सार्वभौमिकतामाथि आँच पु¥याउने तर्क गरेको छ ।

Leave a Reply

ताजा समाचार