भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात

पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको चर्चा नेपालभित्र मात्र नभई, देशबाहिर पनि उत्तिकै हुने गरेको छ । घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकाले यो खुकुरी गुणस्तरीयसँगै आकर्षक देखिन्छ । तर खुकुरी बनाउने पेसालाई कठिन तथा अपहेलनाका रूपमा हेरिने गरिएका कारण र पुस्तान्तरण गर्न नसकेका कारण सङ्कटमा पर्ने अवस्था छ ।
तत्कालीन राजा महेन्द्र भ्रमणका क्रममा २०२७ सालमा भोजपुर आएका थिए । भ्रमण सकाएर फर्कने क्रममा स्थानीयवासीले राजालाई उपहारस्वरूप आफूले उत्पादन गरेको खुकुरी हातमा राखिदिए । महेन्द्रले जति पनि खुकुरी देखेका थिए, तिनको तुलनामा त्यो कलात्मक आकर्षक डिजाइनको र उत्कृष्ट पाएपछि ‘भोजपुरे खुकुरी’ नामकरण गरिदिएका थिए । यसरी मौलिक पहिचान बोकेको खुकुरी बिस्तारै पेसाका रूपमा आयआर्जनको मुख्य स्रोत बन्दै गयो र जिल्ला खुकुरीका लागि प्रख्यात बन्यो । पुरानो शैलीबाट सान लगाएर पाइनसँगै धार लगाउने र हातले नै फलाम कुटेर बनाईने भोजपुरे खुकुरी अन्य खुकुरी भन्दा बलियो र आकर्षक हुन्छ । जिल्ला सदरमुकामका साथै बोखिम, कोट, दलगाउँ, गोगने, खावा, टक्सार, दिङ्ला, लगायत अन्य क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाउने गरिन्छ । भोजपुरमा सिरुपाते, बासँपाते, बुदुनालगायतधेरै प्रकारका खुकुरी प्रख्यात छ । भोजपुरे खुकुरी बिशेष गरी सजाउन, उपहकरस्वरुप चिनो दिन र कर्मचारीको स्वागतदेखि बिदाइमा धेरै बिक्री हुने गरेको छ ।

भोजपुरको पहिचान बोकेको भोजपुरे खुकुरीको ख्याती र माग अझै उस्तै छ । अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, चीन लगायत धेरै देशमा यसको माग उत्तिकै छ । तर, कच्चापदार्थ र दक्ष कालीगढको अभावमा भने संकटमा पर्दै गएको व्यवसायीहरु बताउँछन । राज्यले बनपैदावरमा लगाएको निषेध र स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइँमा नपर्दा पनि उत्पादनमा कमी आएको देखिन्छ । भोजपुरे खुकुरी बनाउन धेरै मेहनत लाग्ने भएकाले अन्य खुकुरी भन्दा यो फरक छ । तर उपभोक्ताहरुले सस्तो खोज्ने चलन बढेकाले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको व्यवसायीहरु बताउँछन । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यो व्यवसायमा परेको छ । कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गर्नपर्ने र राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवसायीहरुको सुझाव छ ।

राज्यले यसमा लाग्ने विद्युत, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे व्यवसाय पुन फस्टाउने देखिन्छ । गोेर्खालीको शानको रुपमा चिनिएको भोजपुरे खुकुरी संग जोडिएको ऐतिहासिकता र व्यवसायिकतालाई मध्य नजर गर्दै स्थनीय सरकारको पनि ध्यान जान आवश्यक छ ।

Leave a Reply