देशभरको मौसम बदलीः कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

देशभरको मौसम बदलीः कोशी, वागमती र गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल नेपालको मौसममा उल्लेखनीय परिवर्तन भइरहेको छ । आज दिउँसो र राति कोशी, वागमती र गण्डकी प्रदेशका विभिन्न भू–भागमा अति भारी वर्षाको सम्भावना रहेको छ । विभागद्वारा जारी बुलेटिनअनुसार आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीको अवस्था रहनेछ । यस अवधिमा कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । साथै, कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । मधेस, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । यसैगरी, रातिको समयमा पनि देशका अधिकांश प्रदेशमा बदलीकै अवस्था रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । राति कोशी र बागमती प्रदेशका केही स्थान र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको आकलन गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । हिमाली भेगमा मध्यम वर्षा र हिमपातको स्थिति कायमै रहने देखिएको छ ।

Leave a Reply