‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’ | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’

काठमाडौं ।

नेपालको आधुनिक इतिहासमै पछिल्लो समय घटेका केही परिघटनाहरूले सिङ्गो समाजलाई स्तब्ध र विचलित बनाएका छन् । त्रिपुरेश्वर, सर्लाही र बुद्धनगरमा लगातार रूपमा घटेका आत्मदाहका घटनाहरू केवल व्यक्तिगत दुःखान्त मात्र होइनन्, यसले हाम्रो सामाजिक संरचना, आर्थिक प्रणाली र राज्यको शासकीय प्रबन्धभित्र सल्किरहेको गम्भीर सङ्कटलाई उजागर गरेका छन् । एकपछि अर्को गर्दै छोटो समयको अन्तरालमा नागरिकहरूले आफ्नै शरीरमा आगो लगाएर देहहत्याको प्रयास गर्नुले नेपाली समाज कुन दिशातिर जाँदैछ भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ । यी घटनाहरूले सिङ्गो राष्ट्रको मानसिक स्वास्थ्य, आर्थिक नीति र सामाजिक सुरक्षा संयन्त्रमाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएका छन् ।

आत्महत्या सङ्क्रमण र ‘वेर्थर प्रभाव’ 
यस्ता चरम कदमहरूको श्रृङ्खलालाई समाजशास्त्र, मनोविज्ञान र जनस्वास्थ्यको दृष्टिकोणबाट गहिरो गरी केलाउनु आवश्यक छ । पहिलो घटनाको शोक र आश्चर्य समाप्त हुन नपाउँदै दोस्रो र तेस्रो घटनाहरू लगातार घट्नुले समाजमा एक प्रकारको संक्रामक मनोविज्ञान अर्थात आत्महत्या सङ्क्रमण फैलिरहेको त छैन भन्ने गम्भीर आशङ्का जन्माएको छ । विज्ञानले यस प्रकारको घटनालाई निकै संवेदनशील रूपमा लिने गर्दछ । जब समाजमा कुनै एउटा चरम घटनाको व्यापक र सनसनीपूर्ण चर्चा हुन्छ, तब पहिलेदेखि नै मानसिक तनाव वा डिप्रेसनमा रहेका अन्य व्यक्तिहरूले पनि त्यसैलाई आफ्नो समस्याको अन्तिम र उपयुक्त समाधान ठान्न सक्छन् । यस प्रकारको प्रभावलाई जनस्वास्थ्यको भाषामा आत्महत्या सङ्क्रमण वा वेर्थर प्रभावका रूपमा चिनिन्छ ।यस संक्रामक प्रभावको ऐतिहासिक र वैज्ञानिक पृष्ठभूमि निकै पुरानो छ । समाजशास्त्री डेभिड फिलिप्सले सन् १९७४ मा प्रतिपादन गरेको वेर्थर प्रभावको सिद्धान्तअनुसार, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा आत्महत्याका घटनाहरूको नाटकीय र विस्तृत विवरण सार्वजनिक भएपछि समाजमा सोही प्रकृतिका घटनाहरू नाटकीय रूपमा बढ्ने गर्छन् । पछिल्ला केही दिनयता नेपालमा भएका आत्मदाहका घटनाहरू र त्यसपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएको चर्चाको शैलीले यस प्रभावलाई थप बल पु¥याएको देखिन्छ । घटनालाई सहानुभूति दिने नाममा वा राज्यको विरोध गर्ने बहानामा जसरी ग्लोरिफाई वा गौरवीकरण गरिएको छ, त्यसले समाजका अन्य संवेदनशील नागरिकहरूलाई पनि यस्तै कठोर निर्णय लिन भित्रभित्रै उक्साउने काम गरिरहेको छ ।
घटनाका प्रतिनिधि पात्रहरू र तिनले उजागर गरेका यथार्थ
पछिल्लो समय घटेका तीनवटै घटनाका पात्रहरू र उनीहरूको पृष्ठभूमि फरक–फरक भएपनि उनीहरूले भोगेको मानसिक सङ्कट र निराशाको अन्तर्य भने समान देखिन्छ । हिमाली जिल्ला मुगुबाट काठमाडौं आइ सङ्घर्ष गरिरहेका गणेश नेपालीको त्रिपुरेश्वरमा भएको आत्मदाहको प्रयास र अस्पतालमा भएको उनको दुःखद निधनले दुर्गमका नागरिकहरूले भोग्नुपरेको चरम आर्थिक उपेक्षा र राज्यप्रतिको अविश्वासलाई दर्साउँछ । राजधानी जस्तो ठाउँमा आएर पनि बाँच्ने न्युनतम आधार नभेट्दा र राज्यको कुनैपनि निकायबाट सहयोग पाउने आशा मरेपछि एउटा नागरिकले आफ्नो शरीरमा आगो झोस्ने निर्णय गर्नु सिङ्गो व्यवस्थाका लागि लज्जास्पद विषय हो । यसैगरी सर्लाहीका विवेक मण्डलले गरेको प्रयासले ग्रामीण तराई–मधेसका युवाहरूमा व्याप्त चरम बेरोजगारी, वित्तीय शोषण र मिटरब्याजको चक्रलाई उजागर गर्दछ । ऊर्जाशील उमेरमा नागरिकहरूले वित्तीय संस्थाहरू वा मिटरब्याजीहरूको निरन्तरको प्रताडना खप्न नसकेर आत्म–विनाशको बाटो रोज्नुले हाम्रो स्थानीय अर्थतन्त्र र वित्तीय नियमन प्रणाली कति कमजोर छ भन्ने कुरा प्रमाणित गर्छ । ऋण तिर्न नसक्नु वा साहुहरूको मानसिक यातना खप्नुपर्ने परिस्थितिले मानिसलाई कुन हदसम्म निरुत्साहित बनाउँछ र मरेपछि सबै समस्या सकिन्छ भन्ने भ्रममा पार्छ भन्ने कुरा यस घटनाले स्पष्ट पार्छ ।अर्कोतर्फ, काठमाडौंको बुद्धनगर जस्तो सुगम र सहरी क्षेत्रमा आफ्नै घरभित्र आश्विन राउतले गरेको प्रयासले शहरी जीवनमा बढ्दो एक्लोपन र मानसिक आँधीबेहरीलाई देखाउँछ । बाहिरबाट सामान्य र सम्पन्न देखिने परिवारभित्र पनि कस्ता–कस्ता मानसिक सङ्कटहरू सल्किरहेका हुन्छन् र घरायसी तनाव वा आर्थिक दबाबले मानिसलाई कसरी भित्रभित्रै कमजोर बनाउँछ भन्ने यसले प्रमाणित गर्छ । यी तीनवटै प्रतिनिधि घटनाहरूले नेपालका विभिन्न भौगोलिक, सामाजिक र आर्थिक वर्गका नागरिकहरू चरम मानसिक र प्रणालीगत सङ्कटबाट गुज्रिरहेका छन् भन्नेकुरा बुझाउँछन् ।

मानसिक स्वास्थ्यको अवस्था र तात्कालिक आवेगको सङ्कट
मनोविज्ञान र जनस्वास्थ्यका अन्तर्राष्ट्रिय अनुसन्धानहरूले के देखाएका छन् भने, आत्महत्या वा आत्मदाहको प्रयास गर्नेमध्ये ९० प्रतिशतभन्दा बढी मानिसहरू कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या वा गम्भीर डिप्रेसनको सिकार भएका हुन्छन् । नेपालको सन्दर्भमा मानसिक स्वास्थ्यलाई अझै पनि कलङ्क वा लाजको विषयका रूपमा हेरिने हुनाले धेरैजसो मानिसहरू आफ्ना मनोसामाजिक समस्याहरू लुकाएर राख्न बाध्य हुन्छन् । डिप्रेसन, एन्जाइटी र संवेगात्मक अस्थिरता जस्ता समस्याहरूको समयमै पहिचान र उपचार नहुँदा ती समस्याहरू भित्रभित्रै सञ्चित हुँदै जान्छन् र अन्ततः तात्कालिक आवेगका रूपमा विस्फोट हुन्छन् । यस सन्दर्भमा सबैभन्दा ध्यान दिनुपर्ने विषय भनेको आवेगको क्षणिक समय हो । वैज्ञानिक शोधहरूका अनुसार, मानिसको मस्तिष्कमा आत्महत्याको विचार आउने र त्यसलाई कार्यान्वयन गर्ने तात्कालिक आवेगको समय प्रायः १० देखि ३० मिनेटको मात्र हुन्छ । यदि सो आवेगको समयमा मानिसलाई घातक माध्यमहरूबाट टाढा राख्न सकियो वा उसको ध्यान अन्यत्र मोड्न सकियो भने धेरैजसो अवस्थामा जीवन जोगाउन सकिन्छ । नेपालमा पेट्रोल वा अन्य प्रज्वलनशील पदार्थहरूको सहज उपलब्धताले पनि आत्मदाह जस्तो अत्यन्तै पीडादायी माध्यम रोज्न सहज बनाएको छ । खुल्ला इन्धनको सजिलो पहुँचलाई नियमन गर्न सकेमा तात्कालिक आवेगका कारण हुने यस्ता घटनाहरूमा कमी ल्याउन सकिन्छ ।
बदलिँदो सामाजिक मनोविज्ञान र शासकीय प्रबन्धबीचको द्वन्द्व
पछिल्लो समय नेपालमा देखिएको यो सङ्कटको मुख्य कारण बदलिँदो सामाजिक मनोविज्ञान र हाम्रो शासकीय प्रवन्धबीचको गम्भीर बेमेल पनि हो । वर्तमान समयमा २० देखि ३५ वर्षको उमेर समूहका युवाहरूमा तिब्र आकाङ्क्क्षा, विश्वव्यापी एक्सपोजर र आत्मसम्मानको भावना उच्च छ । उनीहरू आफ्नो श्रमको कदर, इमानदारिताको प्रतिफल र राज्यबाट अभिभावकत्व चाहन्छन् । तर हाम्रो शासकीय प्रबन्ध, कानुनी प्रक्रिया र आर्थिक प्रणाली भने अत्यन्तै झन्झटिलो, उदासीन र अनुत्तरदायी छ । जब नागरिकको न्यायोचित आकाङ्क्षा र राज्यको सुस्त संयन्त्रबीच टक्कर हुन्छ, तब व्यक्तिमा चरम निराशा र ‘सिकिएको असहायपन’ को भावना उत्पन्न हुन्छ ।आफ्नो जायजेथा सकिँदा, न्याय माग्न जाँदा कतै सुनुवाइ नहुँदा र बैंक वा वित्तीय संस्थाहरूको निरन्तरको मानसिक दबाब झेल्नुपर्दा नागरिकले राज्यप्रतिको विश्वास पूर्ण रूपमा गुमाउँछ । जब राज्यका कुनैपनि निकायले आफ्नो कुरा सुन्दैनन् भन्ने धारणा दृढ बन्छ, तब व्यक्तिले आफ्नो शरीरलाई नै आफ्नो आवाज र विद्रोहको अन्तिम माध्यम बनाउन खोज्छ । आत्मदाह वास्तवमा राज्यको बहिरो कानसम्म आफ्नो पीडा पु¥याउने र समाजलाई झक्झकाउने एउटा दर्दनाक प्रयास हो। तर यसरी आफ्नै शरीर जलाएर विद्रोह गर्नु कुनैपनि समस्याको समाधान हुन सक्दैन र यसले पछाडि कहिल्यै नमेटिने पीडा र बर्बादी मात्र छोडेर जान्छ ।
सञ्चारमाध्यमको प्रश्तुति र ‘ग्लोरिफिकेसन’ को गम्भीर खतरा
यस चरम सङ्कटलाई झन् गम्भीर बनाउनमा पछिल्ला केही दिनका सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्रीहरूले निकै नकारात्मक भूमिका खेलेका छन् । मिडियामा आएका समाचारहरूले यी दुःखद् घटनाहरूलाई समाधानको एउटा सहज वा ध्यान तान्ने बाटोको रूपमा प्रश्तुत गरेको देखियो । घटनाको तरिका, प्रयोग गरिएको सामग्री र पीडितको अन्तिम अवस्थालाई अत्यन्तै नाटकीय र सनसनीपूर्ण ढङ्गले प्रश्तुत गर्दा, मानसिक रूपमा कमजोर अवस्थामा रहेका गणेश नेपाली जस्ता अन्य व्यक्तिहरूलाई पनि यसै गर्न उक्साउने वातावरण सिर्जना भएको छ । मिडियाले अनलाइन भ्युज र सनसनीका लागि यस्ता संवेदनशील विषयहरूलाई ग्लोरिफाई गर्दा समाजमा भयानक सङ्क्रमण फैलने जोखिम बढेको छ । सञ्चारमाध्यमहरूले आत्महत्या वा आत्मदाहका घटनालाई यसरी प्रश्तुत गर्नुहुँदैन कि जसले पाठक वा दर्शकमा मर्नु सजिलो छ वा मरेपछि सबै समस्याको समाधान हुन्छ भन्ने भ्रम पैदा गरोस् । शिर्षकमा नै उत्तेजक शब्दहरू राख्ने, घटनास्थलको प्रत्यक्ष भिडियो वा दर्दनाक तस्बिरहरू बिनाकुनै सेन्सर सार्वजनिक गर्ने र मृतकप्रति अत्यधिक सहानुभूति प्रकट गर्दै उनको कदमलाई सही ठह¥याउन खोज्ने कार्य पत्रकारिताको आचारसंहिता र जनस्वास्थ्यको सिद्धान्त विपरीत छ । जब मिडियाले यस्ता घटनालाई ‘मौन विद्रोह’ वा ‘वीरता’ को रूपमा चित्रण गर्छ, तब समाजमा पहिलेदेखि नै डिप्रेसनमा रहेका व्यक्तिहरूले यसलाई आफ्नो न्याय पाउने र ध्यान तान्ने अन्तिम कडीको रूपमा सोच्न थाल्छन् ।

सङ्कट समाधानका लागि बहुआयामिक र एकीकृत रणनीति
यो गम्भीर सामाजिक र राष्ट्रिय सङ्कट समाधान गर्न राज्य, सञ्चारमाध्यम, समाज र परिवार सबैले आ–आफ्नो तहबाट जिम्मेवारी वहन गर्दै एकीकृत रूपमा रणनीतिक कदमहरू तत्काल चाल्नुपर्छ। सर्वप्रथम राज्यले आफ्नो अभिभावकीय भूमिकालाई पुनः परिभाषित गर्नुपर्छ । सरकारले तत्काल मानसिक रोग विशेषज्ञ, समाजशास्त्री र जनस्वास्थ्यविद्हरू सम्मिलित एक उच्चस्तरीय कार्यदल गठन गरी यो सङ्क्रमण रोक्न ठोस योजना ल्याउनुपर्छ । राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइनलाई थप सुदृढ र साधन–सम्पन्न बनाएर देशभर २४ सै घण्टा प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्छ, ताकि सङ्कटमा परेको जुनसुकै नागरिकले तत्कालै निःशुल्क मनोपरामर्श पाउन सकोस् ।यसैगरी, आर्थिक सङ्कटमा परेका साना व्यवसायीहरू, मिटरब्याज र लघुवित्तको मारमा परेका विपन्न नागरिकहरूका लागि विशेष राहत कार्यक्रम र ऋण पुनर्संरचनाका योजनाहरू ल्याउनु आवश्यक छ । वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा ऋणीहरूलाई मानसिक रूपमा प्रताडित गर्ने कार्यलाई पूर्ण रूपमा निषेध र दण्डित गरिनुपर्छ । राज्यले आफ्नो कानुन र न्याय प्रणालीलाई यति सुलभ र उत्तरदायी बनाउनुपर्छ कि कुनै पनि नागरिकले न्यायका लागि भौँतारिनु नपरोस् र राज्य सधैँ आफ्नो साथमा छ भन्ने विश्वास प्राप्त गर्न सकोस् । सञ्चारमाध्यमहरूले पनि आफ्नो व्यावसायिक र सामाजिक उत्तरदायित्वलाई गम्भीरतापूर्वक बुझ्नुपर्छ । प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घले आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा पालना गर्नुपर्ने निर्देशिकाहरूलाई कडाइका साथ लागू गराउनुपर्छ । समाचारको शीर्षक र सामग्रीमा सनसनी फैलाउने भाषा प्रयोग गर्न बन्द गरिनुपर्छ । कुनैपनि आत्मदाह वा आत्महत्यासम्बन्धी समाचार वा सामाजिक सञ्जालको पोस्टको मुनि अनिवार्य रूपमा मानसिक स्वास्थ्य हेल्पलाइनका नम्बरहरू र सकारात्मक सन्देशहरू राख्ने अभ्यासलाई अनिवार्य बनाउनुपर्छ । तस्बिर वा भिडियोहरू सामाजिक सञ्जालमा साझा गर्नु वा फैलाउनु अपराध सरह हो भन्ने चेतना नागरिकस्तरसम्म पु¥याउनुपर्छ ।
हाम्रो सामाजिक र पारिवारिक संरचनामा पनि व्यापक सुधारको आवश्यकता छ । आधुनिक जीवनशैलीले ल्याएको एकाङ्कीपनलाई चिर्न परिवार र समुदायमा खुला संवादको संस्कृति विकास गर्नुपर्छ। परिवारका सदस्यहरूले एकअर्काको कुरा सुन्ने, सुख–दुःख बाँड्ने र कोही तनावमा छ भने उसलाई सहानुभूतिपूर्वक साथ दिने वातावरण बनाउनुपर्छ । मानसिक स्वास्थ्य समस्याहरूलाई कलङ्क वा कमजोरीका रूपमा नहेरी सामान्य शारीरिक बिरामी जस्तै सहज रूपमा उपचार गर्न सकिन्छ भन्ने कुरालाई समाजमा स्थापित गर्नुपर्छ ।

जीवन अमूल्य छ हामी प्रत्येक नागरिकले यो बुझ्न आवश्यक छ कि मानव जीवन अत्यन्तै अमूल्य छ र यस संसारमा यस्तो कुनैपनि समस्या छैन जसको समाधान सम्भव नहोस् । चरम निराशा, एन्जाइटी वा आत्महत्याको सोच आउनु एउटा मानसिक स्वास्थ्यको जटिल अवस्था हो, जसलाई चिकित्सक वा मनोपरामर्शदाताको सहयोगले पूर्ण रूपमा निको पार्न सकिन्छ । आफ्ना कुराहरू नजिकका साथीभाइ, परिवार वा मनोविद्हरूसँग निर्धक्कसँग साझा गर्नुपर्छ । आजको चरम अन्धकारपछि भोलिको उज्यालो अवश्य आउँछ भन्ने आशालाई जीवित राख्दै, आफैँलाई सिध्याउने बाटो कहिल्यै पनि रोज्नु हुँदैन। हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार बनेर आफू पनि बचौँ र अरूलाई पनि बचाउने अभियानमा हातेमालो गरौँ ।

Leave a Reply

ताजा समाचार