वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान

काठमाडौं ।

अभिभावकलाई मुख्यमन्त्री बानियाँको ढाडस–‘तपाईंहरु जीवनयापनको लागि संघर्ष गर्नुहोस्, छोराछोरी पढाउन प्रदेश सरकार छ’
वागमती प्रदेश सरकारको प्राविधिक उच्च शिक्षा छात्रवृत्तितर्फ छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
सिमान्तीकृत तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको ‘शैक्षिक छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । मंगलवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी प्रदेश सरकारले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण समेत गरेको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको घोषणा बमोजिम सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ जारी गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । निर्देशिकाअनुसार सामुदायिक माध्यमिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका, वागमती प्रदेशका स्थायी बासिन्दा तथा सम्बन्धित निकायबाट विपन्न वा सिमान्तीकृत समुदायका रूपमा सिफारिस भएका विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि योग्य ठहरिएका छन्  । गत जेठ २७ गते गोरखापत्रमा प्रकाशित सूचनाका आधारमा आवेदन दिएका विद्यार्थीमध्ये योग्यताक्रम र निर्देशिकाको मापदण्डका आधारमा छनोट गरिएको हो । सातवटा प्राविधिक विधामा आवेदन आह्वान गरिएकोमा चारवटा विधामा ७ जना विद्यार्थी छनोट भएका थिए । छनोट हुनेमा मेडिकल डाक्टर श्रीराम भट्ट (बेलकोटगढी–१०, नुवाकोट) का हुनुहुन्छ । उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडामा अध्ययन गर्नुहुनेछ । सिभिल इन्जिनियरिङ मातृका चेपाङ (कालिका नगरपालिका १०, चितवन) र अर्शिम श्रेष्ठ (नमोबुद्ध नगरपालिका ९, काभ्रेपलाचोक) हुनुहुन्छ । उहाँहरूले क्रमशः नेपाल पोलिटेक्निक इन्स्टिच्युट र ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गर्नुहुनेछ । भेटेरिनरी डाक्टरमा ललिता तामाङ (शिवपुरी गाउँपालिका ४, नुवकोट) र  विशाल तामाङ (रोशी, काभ्रेपलाञ्चोक) हुनुहुन्छ । उहाँहरुले क्रमशः हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजि, कीर्तिपुरमा अध्ययन गर्नुहुनेछ । त्यस्तै कृषि (बिएसए, एजि) मा उत्सव प्रधान (थाहा नगरपालिका १ मकवानपुर) र निरुता योगी (तामाकोशी गाउँपालिका ४, दोलखा) की हुनुहुन्छ । उहाँहरुले क्रमशः हेटौँडा जनप्रिय क्याम्पस मकवानपुर  र स्कुल अफ एग्रिकल्चर, टिकापुर कैलीलमा अध्ययन गर्नुहुनेछ । आयुर्वेद डाक्टर (बिएएमएस) दुई जना, सूचना प्रविधि इन्जिनियरिङ (बिइआइटी) दुई जना र स्टाफ नर्स तीन वर्षे १० जनामा कुनै दरखास्त नभएको निर्देशनालयले जनाएको छ ।
छात्रवृत्ति व्यवस्थापनका लागि महानिर्देशकको संयोजकत्वमा एक छनोट समिति गठन गरिएको थियो । छनोट भएका विद्यार्थीको शिक्षण शुल्क सरकारले सोझै सम्बन्धित शिक्षण संस्थाको बैंक खातामा पठाउने व्यवस्था मिलाइएको छ । स्नातक तहका लागि प्रदान गरिने उक्त छात्रवृत्ति रकम ३५, ४० र २५ प्रतिशत गरी तीन किस्तामा भुक्तानी गरिनेछ । यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको सेवाकालीन शर्त हो । छात्रवृत्तिमा अध्ययन पूरा गरेपछि विद्यार्थीले अनिवार्य रूपमा वागमती प्रदेशभित्रका सार्वजनिक सेवाका क्षेत्रमा कम्तीमा एक वर्ष र बढीमा दुई वर्ष स्वयंसेवकका रूपमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले संघीय नीतिले नसमेटेका सीमान्तकृत, गरिव र विपन्न परिवारका विद्यार्थीको लागि छात्रवृत्तिको कार्यक्रम विस्तार गरेको बताउनुभयो । उहाँले संघीय सरकारले निर्धारण गरेको छात्रवृत्ति नीतिले छुन नसकेका विद्यार्थीलाई प्रदेश सरकारले आफ्नै नीतिमार्फत समेट्ने प्रयास गरेको समेत बताउनुभयो । उहाँले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपर्ने वा ऋण गरेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको समेत बताउनुभयो । उहाँले आर्थिक रूपमा कमजोर तर अध्ययनप्रति इच्छाशक्ति भएका विद्यार्थीलाई पढाइ नरोकिने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘हिजो एकात्मक राज्य प्रणालीमा, राजा महाराजाको प्रणालीमा, राजाको शासनमा, राणाको शासनमा कुनै चेपाङको छोरो मन्त्री भएको इतिहासमा छैन । र यो किसिमले छात्रवृत्ति दिने प्रक्रिया हिजो कम मात्र थियो । आज त्यो बढेको छ । भोलि हामीले गरेको कुरा पालिकाले अनुशरण गर्नसक्छ । संघीय सरकारले नीति बनायो, नीतिमा पाउने छात्रवृत्ति एउटा छ । संघीय सरकारले नीतिमा नअटाएको विषयलाई हामीले प्रदेश सरकारको नीतिमार्फत अटाउने प्रयास गरेका छौँ । तिर्न नसक्ने तर पढ्ने चाहाना भएको, ऋण गरेर पढ्नुपर्ने, ऋणको बोझ बाआमाले बोक्नुपर्ने अवस्थाले नागरिकलाई समस्या पारेको कारण जीवनको लागि तपाईं संघर्ष गर्नुहोस्, छोराछोरी पढाउन वागमती सरकार छ । यही भनेर हामीले छात्रवृत्तिको शुरुवात गरेका छौँ । तपाईंहरुको उज्वल भविष्यको कामना छ ।’
प्रदेश सरकारले यस कार्यक्रमलाई केवल आर्थिक सहायता मात्र नभई दीर्घकालीन मानव पुँजी विकासको योजनाका रूपमा लिएको उहाँले बताउनु भयो । यस पहलबाट आर्थिक अभावका कारण प्राविधिक शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने र प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त मुख्यमन्त्री बानियाँको छ ।

Leave a Reply

ताजा समाचार