रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त भएको राजनीतिक वैधानिकतासँगै अब पार्टी थप परिपक्व र जिम्मेवार भएर अगाडि बढ्ने उद्घोष गर्नुभएको छ । चितवनको भरतपुरमा आयोजित महाधिवेशनको समापन तथा नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा अब केवल एउटा वैकल्पिक शक्ति मात्र नभई देशको शासन व्यवस्था सञ्चालन गर्ने जिम्मेवार राजनीतिक दलका रूपमा स्थापित भएको बताउनु भयो । सभापति लामिछानेले नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि र अग्रज राजनीतिज्ञहरूको योगदानलाई स्मरण गर्दै वर्तमान उपलब्धि उहाँहरूकै संघर्षको प्रतिफल भएको स्वीकार गर्नुभयो । उहाँले व्यवस्था परिवर्तनको चरण सकिएकाले अब प्राप्त उपलब्धिहरूको जगमा उभिएर जनताको अवस्था परिवर्तन गर्ने चुनौतीलाई सामना गर्न तयार हुनुपर्नेमा जोड दिनुभयो ।
संगठन निर्माणका चुनौती र परिपक्वताको मार्ग
पार्टी स्थापनाको छोटो अवधिमा कैयौँ राजनीतिक उतारचढाव झेल्नुपरेका कारण संगठन निर्माणका कतिपय कामहरू अधुरै रहेको उहाँले स्वीकार गर्नुभयो । विगत चार वर्षमा नियमित बैठक बस्न, आन्तरिक प्रशिक्षण सञ्चालन गर्न र सदस्यता विस्तारमा सोचेजस्तो समय दिन नसकिएको भएपनि महाधिवेशनपछि ती कमीकमजोरीहरूलाई सच्याइने उहाँको प्रतिवद्धता थियो ।

आन्तरिक लोकतन्त्र र निर्वाचनको सन्देश
पार्टीको आन्तरिक निर्वाचनका क्रममा देखिएको उत्साहलाई उहाँले लोकतन्त्रको सुन्दर कडीका रूपमा चित्रण गर्नुभयो । पदाधिकारी चयनमा सर्वसम्मति खोज्ने प्रयास भएपनि अन्ततः निर्वाचनमार्फत नेतृत्व चयन हुनुले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको उहाँको तर्क थियो । निर्वाचनका क्रममा भएका  प्रतिष्पर्धा र सानातिना मनमुटावलाई यहीँ विसर्जन गरेर एक ढिक्का भएर अगाडि बढ्न उहाँले सम्पूर्ण कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।
विचार र सिद्धान्तहीनताको आरोपको खण्डन
रास्वपामाथि लाग्दै आएको ‘विचारविहीन र सिद्धान्तहीन’ दलको आरोपलाई यो महाधिवेशनले पूर्ण रूपमा खारेज गरिदिएको सभापति लामिछानेले दाबी गर्नुभयो । पार्टीका दस्तावेज, नीति र आदर्शहरू पहिले नै स्पष्ट भएपनि विपक्षीहरूले प्रतिशोधका कारण ती डकुमेण्टहरू नपढेको उहाँको आरोप थियो ।

परिपक्वता र जिम्मेवार राजनीतिक आचरण
आफ्नो दल र स्वयं आफूमाथि लाग्ने गरेको ’अपरिपक्वता’ को आरोपबारे बोल्दै लामिछानेले परिस्थितिले अब आफूहरूलाई अपरिपक्व हुने छुट नदिएको बताउनु भयो । संसदीय अभ्यास र सार्वजनिक अभिव्यक्तिहरूमा अझ बढी गम्भीरता र परिपक्वता देखाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो । लोकप्रियताको आडमा लोकतन्त्रका आधारभूत सिद्धान्त र शक्ति पृथकीकरणको मर्मलाई आँच पुग्न नदिने उहाँको दृढ सङ्कल्प थियो ।

‘जान्नेलाई छान्ने’ बाट ‘जान्ने बनाई छान्ने’ सम्म
पार्टीको चर्चित नारा ‘जान्नेलाई छान्ने’ को सन्दर्भ उल्लेख गर्दै लामिछानेले समयसापेक्ष यसको व्याख्या गर्नुभयो । निर्वाचनको समयमा संगठन नभएका कारण ‘जान्नेलाई’ खोजेर उम्मेदवार बनाउनुपर्ने बाध्यता रहेको स्मरण गर्दै उहाँले अब पार्टीले आफ्ना कार्यकर्ताहरूलाई ‘जान्ने बनाई छान्ने’ र काम नगर्नेहरूलाई विधिबाट बिदा गर्ने नीति लिने प्रस्ट पार्नुभयो । उहाँले हिजो उम्मेदवार खोज्नुपर्ने अवस्थाबाट आज उम्मेदवार व्यवस्थापन गर्नुपर्ने अवस्थामा आइपुग्नु पार्टीको सफलता भएको बताउनु भयो ।

संस्थागत मर्यादा र रेड लाइनको पालना
लोकतन्त्रका संस्थाहरूलाई भत्किन नदिने र शक्ति पृथकीकरणको सिद्धान्तमा अडिग रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले कुनै पनि तहका नेता वा सांसदले ‘रेड लाइन’ क्रस गर्न नपाउने चेतावनी दिनुभयो ।

सञ्चार जगत र अन्तर्राष्ट्रिय सम्बन्ध
पछिल्लो समय सञ्चार माध्यमबाट टाढिएको भन्ने जिज्ञासाको उत्तर दिँदै लामिछानेले कार्यव्यस्तताका कारण अन्तर्वार्ताहरूमा समय दिन नसकेको तर सञ्चारकर्मीका प्रश्नहरूबाट कहिल्यै नभागेको स्पष्ट पार्नुभयो । साथै उहाँले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विकास कूटनीति र वैदेशिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन रास्वपा प्रतिवद्ध रहेको सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिनुभयो ।
कार्यकर्ताको त्याग र आर्थिक पारदर्शिता
महाधिवेशनका क्रममा कार्यकर्ताहरूले व्यहोर्नुपरेको आर्थिक र भौतिक कष्टप्रति उहाँले सहानुभूति प्रकट गर्नुभयो । तीन दिनका लागि आएका प्रतिनिधिहरू साताभर बस्नुपर्दा परेको आर्थिक भारलाई सम्बोधन गर्न पार्टीको फण्ड कार्यकर्ताहरूकै हितमा खर्च गरिने उहाँले घोषणा गर्नुभयो ।

Leave a Reply