काठमाडौँ ।
प्रतिनिधि सभाका सांसदहरुले सेवाग्राहीहरुको हित केन्द्रित भएर निर्णय लिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु लक्ष्मीप्रसाद पोखरेल, लिमा अधिकारी आचार्य, शोभा खनालले अस्पताललाई सविधायुक्त बनाई दुर्गम क्षेत्रका नागरिकका उपचारका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभएको हो । सांसद पोखरेलले सेवाग्राही मर्कामा परेको भन्दै २ दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो । उहाँले सरकारले सेवाग्राहीको हितमा काम गर्नुपर्ने पनि बताउनु भयो ।
विराटनगरको एकीकृत सम्पन्न बस्ती बनाएर ठगी गरिएको भन्दै तत्काल छानविन गरी दोषीमाथि कडा कारबाही गर्न सांसद लिमा अधिकारीले सरकारसँग माग गर्नुभयो । उहाँले महानगर, ह्याविटयाट र जीवन विकास लुघवित्तको त्रिपक्षीय साझेदारीमा उक्त बस्ती बनेको उल्लेख गर्दै सुकुम्बासीका लागि आवास नभई ऋणको पासो सावित भएको भन्दै आपत्ति समेत जनाउनु भयो । दैनिक छाक टार्न धौधौपर्ने सुकुम्बासीलाई मासिक ७ हजार रुपैयाँ किस्ता तिर्नेगरी ऋणको भार उक्त बस्तीमा थोपरिएको सांसद आचार्यको भनाई थियो । सांसद शोभा खनालले गोर्खामा रहेको प्रदेश अस्पताललाई सुविधासम्पन्न बनाउन सरकारसँग माग गर्नुभयो ।
उहाँले एनआईसियू लगायतका सेवा सुविधा नहुँदा उक्त अस्पतालमाप नवजात शिशुलेका समेत अकालमा ज्यान गुमाउनु परेको उल्लेख गर्दै सरकारले त्यसमा आवश्यक स्रोत साधन र आवश्यक दरबन्दीको व्यवस्था तत्काल गर्नुपर्ने बताउनु भयो । सांसद खनालले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने कुरामा सरकारले केन्द्रित भएर काम गर्नुपर्ने पनि बताउनु भयो ।




