भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असोज २३ २०८३, शनिबार

भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको बताउनुभएको छ । भारत भ्रमण सम्पन्न गरी शुक्रवार स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भारत भ्रमणका क्रममा दुवै नेतालाई नेपाल भ्रमणको निम्तो दिएको बताउनुभएको हो । सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष दुवै नेपाल भ्रमणका लागि सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरूबीच एक–अर्काको देशमा भ्रमण र निमन्त्रणा आदानप्रदान गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया भएको समेत स्पष्ट पार्नुभयो ।

भारतमा रहेका नेपाली नागरिकहरूले भोग्दै आएका समस्याका विषयमा सोधिएको प्रश्नमा लामिछानेले त्यहाँस्थित नेपाली दुतावास र सम्बन्धित संयन्त्रलाई थप चुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । भारतमा रहेका नेपालीहरूका स्वास्थ्योपचार, कागजी प्रक्रिया र दैनिक जनजीवनसँग जोडिएका विविध समस्याहरूलाई सम्बोधन गर्न सरकारी संयन्त्रको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । सभापति लामिछानेले प्रवासमा रहेका नेपालीका समस्याहरू लगभग उस्तै प्रकृतिका हुने भएपनि ती समस्या समाधान गर्ने संयन्त्र सक्रिय र चुस्त भएमा त्यसलाई उल्लेख्य रूपमा कम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply