काठमाडौँ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगरप्रहरी बन्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । बुधवार महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले जनतासँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । उहाँले नगर प्रहरी काठमाडौं महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै नमूना प्रहरीको रुपमा काम गर्न आग्रह गर्नुभयो । उहाँले नगर प्रहरीको कार्यशैली र व्यवहारले महानगरपालिकाको छवि निर्धारण गर्ने बताउनु भयो । कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीलाई जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न, सेवा नम्र व्यवहारबाट शुरु गर्न तथा चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो । उहाँले बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो ।
त्यसको लागि अन्य सुरक्षा निकायसँग समन्वय गर्न उहाँले नगर प्रहरी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले नगर प्रहरीभित्रको एकता कायम राख्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले नगर प्रहरीलाई दिनमा कम्तीमा तीन पटक सहरका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गर्न निर्देशन दिनुभयो । सडक, फुटपाथ, सडकपेटी अतिक्रमण तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिमाथि निरन्तर निगरानी राख्नुपर्ने उहाँको भनाई छ । उहाँले नगर प्रहरीको वृद्धि–विकास, सरुवा, बढुवा तथा तह मिलानका विषय कानूनसम्मत रूपमा अगाडि बढाइने पनि बताउनु भयो । उहाँले नगर प्रहरीको कार्यक्षमता अभिवृद्धि, तालिम तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखिने प्रतिवद्धता जनाउँदै वरिष्ठ–कनिष्ठको आधारमा विभेद नगरी सबैलाई सम्मानजनक अवसर प्रदान गरिने उल्लेख गर्नुभयो । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति निर्देशनहरु अक्षरशः पालन गर्ने बताउनु भयो । उहाँले महानगर प्रहरी ऐन कार्यान्वयनमा आएको उल्लेख गर्दै अब प्रहरीको वृत्तिविकासमा पनि ध्यान दिन महानगरलाई आग्रह गर्नुभयो । उहाँले ऐन कार्यन्वयनमा नआउँदा प्रहरीको वृत्ति विकास लगायतका कामहरु अवरुद्ध बनेको उल्लेख गर्नुभयो । महानगरले बुधवार नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो ।





