महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरकः अध्यक्ष मगर | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरकः अध्यक्ष मगर

काठमाडौँ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक भएको बताउनुभएको छ । शनिवार महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानव अधिकारको अवस्था सबल बन्न नसक्ने उहाँको भनाइ छ । अध्यक्ष मगरले संवैधानिक व्यवस्थाअनुसार मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन गर्नु आयोगको प्रमुख कर्तव्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, आदिवासी तथा लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्न आयोगले उजुरी लिने, अनुगमन गर्ने र सरकारलाई आवश्यक सिफारिस गर्ने कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो । सरकारी कार्यालयहरूमा शिशु स्याहार केन्द्र स्थापना र हानिकारक अभ्यासका रूपमा रहेको छाउपडी प्रथाको अन्त्यका लागि आयोगले सरकारलाई आवश्यक सिफारिस गरिसकेको उनले बताउनु भयो । अध्यक्ष मगरले संयुक्त राष्ट्रसंघको महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिको समितिमा आयोगका तर्फबाट छैटौं र सातौं आवधिक प्रतिवेदन पेश गरिएको जानकारी दिनुभयो ।  बालविवाहको वर्तमान कानूनी उमेर हद (२० वर्ष) का सम्बन्धमा भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले यसबारे आयोगले राष्ट्रियस्तरको जाँचबुझ गरिरहेको बताउनु भयो । उहाँले विभिन्न क्षेत्रबाट सुझाव संकलन र अनुसन्धान भइरहेको र प्राप्त हुने निष्कर्षका आधारमा सरकारलाई सिफारिस गरिने स्पष्ट पार्नुभयो ।

Leave a Reply