काठमाडौँ ।
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनअपेक्षाअनुसार अवस्था परिवर्तन गर्ने आफ्नो मूल कर्तव्यबाट विचलित भएको आरोप लगाउनुभएको छ ।नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकार लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्न उद्यत रहेको आरोप लगाउनु भयो । प्रवक्ता चालिसेले संसदीय प्रणालीभित्रै बसेर सरकारले यसको मर्मविपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो । नेपालको भू–राजनीति र जनसाङ्ख्यिक अवस्थितिलाई दृष्टिगत गर्दै संसदीय शासन प्रणाली रोजिएको स्मरण गराउँदै उहाँले अहिले सरकारबाटै यस प्रणालीमाथि अदृश्य रूपमा आक्रमण भइरहेको दाबी गर्नुभयो ।
उहाँले अध्यादेश जारी गर्ने शैली, अदालतका प्रसङ्ग, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सङ्घीयताको कार्यान्वयनमा देखिएका कमजोरीलाई संसदीय लोकतन्त्रमाथिको चुनौती भएको बताउनु भयो । प्रवक्ता चालिसेले सञ्चारकर्मीहरूलाई सत्यको पक्षमा अविचलित भएर उभिन आग्रह गर्नुभयो । सन् १९५३ मा अमेरिकामा रङ्गभेद विरुद्ध रोजा पाक्र्सले गरेको सानो विद्रोहले नागरिक अधिकार प्राप्तिमा ल्याएको ठूलो परिवर्तनको उदाहरण दिँदै उहाँले पत्रकारको कलमले नै स्वतन्त्रताको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसको आन्तरिक राजनीतिक प्रसङ्ग उल्लेख गर्दै प्रवक्ता चालिसेले निर्वाचनमा भएको हारलाई ‘ब्याटल’ को हार मात्र भएको र सिद्धान्तको लडाइँमा काँग्रेस कहिल्यै पराजित नहुने स्पष्ट पार्नुभयो । निर्वाचनमा बेहोरेको पराजयलाई ‘सेटब्याक’ को संज्ञा दिँदै उहाँले आगामी पाँच वर्षभित्र जनताले चाहेजस्तो र रोजेजस्तो काँग्रेस बनेर सशक्त रूपमा पुनरागमन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । –





