काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयाग भएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताउनुभएको हो ।
सानासाना बालबालिका चढेको बस प्रयोग गरी अभिभावकलाई चुनाव चिन्ह् र उम्मेदवारका पक्षमा प्रचार गराउनेजस्ता गतिविधि जिम्मेवार राजनीतिक दलले गर्न नहुने उहाँको भनाइ छ । उहाँले विशेष गरी चितवनमा निर्वाचनको लागी मत माग्न बालबालिकालाई प्रयोग गरेको भेटिएको जानकारी दिनुभयो ।
यस्ता गतिविधिबारे रोक्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । चालिसेले अन्य केही दलका कार्यकर्ताले आचारसंहिता मर्यादित ढंगले पालना नगरेको गुनासो आएको बताउनु भयो । उहाँले फरक विचार राख्ने दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी र घृणा फैलाउने गतिविधि रोक्न पनि आग्रह गर्नुभयो । यसले स्वस्थ राजनीतिक प्रतिष्पर्धाको वातावरण बिथोलिँदै जाने उहाँको भनाई छ । आफ्ना धारणा राख्दा सबै राजनीतिक दल र उम्मेदवारले मर्यादित भाषा र व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै उहाँले नेपाली काँग्रेस पनि यस विषयमा सचेत रहेको बताउनुभयो ।
उहाँले निर्वाचनमा मतदान गर्नुअघि उम्मेद्वार र राजनितिक दलको पृष्ठभुमीको बारेमा जानकारी राख्न पनि आग्रह गर्नुभयो । उहाँले असन्तुष्टीबाट नै अधिनायकवादको जन्म हुने उल्लेख गर्दै नेपालमा पनि सचेत रहन आग्रह गर्नुभयो । उहाँले विगतमा गरेका काम र भविष्यमा गर्न सक्ने क्षमताको आधारमा मतदान पनि आग्रह गर्नुभयो ।





