विश्वकप लिग–२ः अन्तिम घरेलु खेलमा आज नेपाल र अमेरिका भिड्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

विश्वकप लिग–२ः अन्तिम घरेलु खेलमा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौँ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलाको अन्तिम खेलमा आज (शुक्रवार) नेपालले अमेरिकासँग प्रतिष्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजे शुरु हुनेछ । घरेलु मैदानमा सञ्चालित यस श्रृङ्खलाको अन्तिम खेलमा नेपाल जित निकाल्दै सुखद् अन्त्य गर्ने लक्ष्यमा छ । यसअघि गत शनिवार भएको पहिलो भेटमा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा ओपनर कुशल भुर्तेलले अविजित शतकीय इनिङ्स खेलेका थिए । यस श्रृङ्खलामा नेपालले मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएपनि नेपालले पछिल्ला दुई खेलमा सानदार जित दर्ता गरेको थियो ।

श्रृङ्खलाका तीन खेलमध्ये दुईमा जित हात पारेको नेपाल आजको खेलमार्फत घरेलु मैदानको फाइदा उठाउँदै अङ्क तालिकामा थप सुधार गर्न चाहन्छ । यता, भ्रमणकारी टोली अमेरिका भने अघिल्लो खेलमा व्यहोरेको हारको बदला लिने सोचमा छ । बुधवार भएको खेलमा स्कटल्याण्डमाथि फराकिलो जित हात पारेकाले अमेरिकाको मनोबल उच्च देखिन्छ । यद्यपि, त्रिवि मैदानमा अमेरिकाको तथ्याङ्क भने कमजोर छ । यस मैदानमा नेपाल र अमेरिकाबीच भएका तीनवटै एकदिवसीय (ओडिआई) खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । लिग–२ अन्तर्गतको यस चक्रमा नेपालका लागि यो अन्तिम घरेलु खेल हो । यस श्रृङ्खलापश्चात नेपालले आफ्ना आगामी दुईवटा त्रिकोणात्मक श्रृङ्खलाहरू विदेशी भूमिमा खेल्ने तालिका रहेको  छ। त्यसैले, वैदेशिक भ्रमणमा निस्कनुअघि घरेलु मैदानमा जित हासिल गर्नु नेपालका लागि महत्वपूर्ण मानिएको छ ।

Leave a Reply