क्षेत्रीय तनावका बीच टर्कीको वायु रक्षा प्रणालीलाई सुदृढ तुल्याउने उद्देश्यका साथ जर्मनीले नेटो अभियानअन्तर्गत टर्कीमा ‘प्याट्रियट’ वायु रक्षा प्रणाली तैनाथ गर्ने भएको छ । टर्कीको रक्षा मन्त्रालयले बुधवार जानकारी दिएअनुसार आगामी जुन महिनादेखि ६ महिनाका लागि यो प्रणाली परिचालन गरिनेछ । रक्षा मन्त्रालयका प्रवक्ता जेकी अक्तुर्कले दिएको जानकारीअनुसार जर्मनीको यो प्रणालीले हाल टर्कीमा तैनाथ नेटोको अतिरिक्त प्याट्रियट प्रणालीमध्ये एकलाई प्रतिस्थापन गर्नेछ । यो प्रणालीले टर्कीमा पहिलेदेखि नै रहेको स्पेनी प्याट्रियट प्रणालीसँग समन्वय गरी कार्य गर्नेछ । दक्षिण–पश्चिमी शहर इज्मिरस्थित एक सैन्य आधारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अक्तुर्कले वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै नेटो सहयोगी राष्ट्रहरूसँगको समन्वयमा यो तैनाथीको निर्णय लिइएको स्पष्ट पार्नुभयो । यसअघि गत मार्च महिनामा इरानसँग जोडिएको क्षेप्यास्त्र जोखिमलाई दृष्टिगत गर्दै टर्कीको दक्षिण–पूर्वी भागमा रहेको नेटोको राडार केन्द्र नजिकै अमेरिकी प्याट्रियट प्रणाली तैनाथ गरिएको थियो । टर्कीका अधिकारीहरूकाअनुसार हालैको द्वन्द्वका क्रममा इरानबाट प्रहार गरिएका चारवटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई नेटोको वायु रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो ।
क्षेत्रीय तनावको पृष्ठभूमिमा गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानी राजधानी तेहरानलगायत अन्य शहरहरूमा संयुक्त हवाई आक्रमण गरेका थिए । त्यसको प्रतिक्रियास्वरूप इरानले मध्यपूर्वमा रहेका अमेरिकी तथा इजरायली सैन्य आधार र सम्पत्तिहरूलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो ।
इरानले अस्वीकार गरे तापनि टर्कीले गत मार्चमा इरानबाट प्रहार गरिएका केही क्षेप्यास्त्रहरूलाई आफ्नो क्षेत्रमा आउनुअघि नै रोकेको दाबी गरेको छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य तनावका कारण टर्कीले आफ्नो सुरक्षा सतर्कता बढाउँदै लगेको छ ।




