सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई आतंकित नपार्न सरकारसँग रास्वपा सांसद पाठकको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई आतंकित नपार्न सरकारसँग रास्वपा सांसद पाठकको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद देवराज पाठकले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद पाठकले स्थानीय तह र विभिन्न सरकारी कार्यालयहरूले पत्राचारमार्फत नागरिकलाई आतंकित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो । बैठकमा सांसद पाठकले दार्चुलाका प्रधानाध्यापक बलदेव सिंह धामीको आत्महत्या प्रकरणप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले शिक्षा क्षेत्रमा व्याप्त राजनीतिक चलखेललाई उदाङ्गो पारेको टिप्पणी गर्नुभयो । इमान्दार व्यक्तिको आत्मसम्मानमा प्रहार हुँदा यस्तो अप्रिय घटना घटेको उल्लेख गर्दै उहाँले आत्महत्या दुरुत्साहन गर्ने दोषीहरूलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभयो । उहाँले नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारका योजनाहरू स्वागतयोग्य रहेको बताउनु भयो । नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने, सार्वजनिक सेवामा सुधार, दोहोरो करमुक्ति सम्झौताको विस्तार र डायस्पोरा लगानी भित्र्याउने नीतिहरू प्रशंसनीय भए पनि कमजोर प्रशासनिक संयन्त्र र कानुनी उल्झनहरू यसका लागि चुनौती बन्न सक्ने उहाँको तर्क थियो । सांसद पाठकले आफ्नो निर्वाचन क्षेत्र दाङ–१ का समस्याहरूबारे सरकारको ध्यानाकर्षण गराउँदै भौगोलिक रूपमा तराई भए पनि यो क्षेत्र विकासमा निकै पछाडि परेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारले प्राधिकरण गठन गरेर सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने तयारी गरिरहँदा स्थानीय स्तरमा भने उठीबासको त्रास फैलाउने काम भइरहेको छ । विधि, प्रक्रिया र मापदण्डका आधारमा समस्या समाधान गर्नुपर्छ, यसरी नागरिकलाई आतंकित पार्ने कार्य तत्काल रोक्न सरकारले स्पष्ट सूचना प्रवाह गर्नुपर्दछ । नाका क्षेत्रका सडकहरूलाई नेपालका मूल सडकसँग नजोडी नाकामा कडाइ गर्दा स्थानीय जनता आतंकित भएका छन् ।’
स्वास्थ्य क्षेत्रको अवस्थाबारे बोल्दै उहाँले करिव २ लाख ४० हजार जनसंख्या रहेको दाङ–१ मा एउटा पनि अस्पताल नहुँदा नागरिकहरू उपचारका लागि बुटवल र नेपालगन्ज धाउनुपरेको तथ्य राख्नुभयो । प्रदेश सरकारले सञ्चालन गर्न नसक्ने बताएको निर्माणाधीन ट्रमा सेन्टरको स्वामित्व केन्द्र सरकारले लिएर तत्काल सञ्चालनमा ल्याउनुपर्ने उहाँको माग थियो । यसैगरी, २५ वर्षदेखि निर्माणाधीन बड्कापथ प्रगन्ना सिँचाइ योजनालाई मेलम्चीको जस्तै नियति भोग्न नदिन र राप्ती–बबई नदी कटान नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्न पनि सांसद पाठकले सरकारसँग जोडदार माग गर्नुभयो । उहाँले सो क्षेत्रमा प्राविधिक शिक्षाको विस्तार र पूर्वाधार विकासका लागि विभिन्न मन्त्रालयहरूमा गरिएको माग बमोजिम न्यायोचित बजेट विनियोजन हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply