काठमाडौँ ।
लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिनुभयो । नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । महानिर्देशक डा जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताउनु भयो ।
उहाँकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् ।महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताउनु भयो । दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको बताउनु भयो । जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिवार नाघढुंगा नौबिसे र नारायणघाट सडकखण्डको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माण व्यवसायीहरुले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए । उनीहरुले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरे । प्रतिनिधिमण्डलले नागढुंगा सुरुङमार्गको पनि स्थलगत अनुगमन गरेको थियो ।




