काठमाडौँ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लवका रशिला महर्जन र प्रफुल महर्जनले ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकालेका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा आर्मीका रशिला र प्रफुलले सिंगल्स र मिक्स डबल्समा समान दुई जित आत्मसात् गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा महिला सिंगल्समा रशिलाले कर्णाली प्रदेशकी निशा सिंहलाई सहजै हराउँदै पहिलो सफलता निकालिन् । नेपाल नम्बर एक खेलाडी रशिलाले निशालाई २१–३ र २१–८ ले हराइन् । उनले प्रफुलसँग मिलेर मिक्स डबल्समा पनि जित आत्मसात् गरिन् । प्रफुल र रशिलाले एपिएफका क्षितिज खनाल र स्वर्लिन श्रेष्ठलाई २१–१९ र २१–१५ ले हराए । प्रफुलले पुरुष सिंगल्समा पनि कर्णाली प्रदेशका हिमाल लामालाई सहजै हराउँदै दुई जित रचेका हुन् ।नेपाल नम्बर तीन खेलाडी प्रफुलले हिमालमाथि २१–२ र २१–४ को सहज जित दर्ता गरे ।
महिला सिंगल्समा आर्मीकी समृद्धि महर्जन, नेपाल पुलिस क्लबकी सीता राई, कोशी प्रदेशकी रोजी राई र बागमती प्रदेशी अजरेन्का शेरचनले पनि सफलता पाए । समृद्धिले कर्णाली प्रदेशकी निर्भिता शाहीलाई २१–१० को समान स्कोरमा पराजित गरिन् । सीताले भने लुम्बिनी प्रदेशकी पल्पसा पुनलाई २१–१४ र २१–८ तथा रोजीले बागमतीकी सुश्मा भुजेललाई २१–१५ र २१–१७ ले हराए । बागमतीकी अजरेन्काले मधेश प्रदेशकी सोहानी सिंहमाथि २१–२ को समान अन्तरमा सहज जित दर्ता गरिन् । यसै विधामा बागमतीका टिशारानी शाक्य, आयुश्मा नेपाल र कोशी निशाम सुब्बाले पनि सुखद नतिजा पाए ।टिशाले गण्डकी प्रदेशकी शेरिन प्रधानाङ्गा २१–११, २१–१९, आयुश्माले मधेशका नेहा पबिनलाई २१–६, २१–६ र निशामले लुम्बिनी प्रदेशकी प्रया गौदलाई २१–८,२१–१० ले हराए । महिला सिंगल्समै आर्मीकी अमिता गिरि, पुलिसका श्रेया बज्राचार्य र अस्मिता खत्री विजयी भएका छन् । अमिताले मधेशकी श्रुति शाहलाई २१–२ र २१–८, पुलिसकी अस्मिताले मधेशकी आँचल भण्डारीलाई २१–१ र २१–९ ले हराउँदा श्रेयाले आर्मीकी स्नेहा सिर्पालीबाट वाकओभर पाइन् ।
प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । नेपाल ब्याडमिन्टन संघले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत राष्ट्रिय खेलकुदको स्तर उकास्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली त्रिभवुन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट छनोट भएका करिब एक सय २० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स्ड डबल्स गरी पाँच विधामा सञ्चालन हुँदैछ ।




