पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तस्थित दरा–इ–नुर जिल्ला पछिल्लो समय गुलाव खेतीको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक रूपमा रमणीय र गुलाब खेतीका लागि उपयुक्त हावापानी भएको यस क्षेत्रका कृषकहरू परम्परागत अफिम खेती छोडेर व्यावसायिक गुलाव खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय कृषककाअनुसार अफिमको तुलनामा गुलाव खेती गर्न सहज हुनुका साथै यो बढी लाभदायक समेत छ । गुलाव खेतीलाई आयआर्जनको दिगो स्रोतका रूपमा लिँदै उनीहरूले यसलाई अफिमको उत्तम विकल्पका रूपमा चित्रण गरेका छन् ।
दरा–इ–नुर जिल्लामा हालसम्म करिव आठवटा गुलाव संकलन केन्द्रहरू स्थापना भइसकेका छन् । कृषकका अनुसार यस वर्ष मात्रै उक्त क्षेत्रबाट करिव ५० हजार किलोग्राम गुलाबका थुँगाहरू संकलन गरिसकिएको छ । पहाडी भूभाग र हरियालीले घेरिएको यो दुर्गम जिल्ला गुलाब खेतीको विस्तारसँगै पछिल्लो केही वर्षयता निकै चर्चामा छ ।
गुलावको सुगन्ध र यहाँको प्राकृतिक सौन्दर्यले गर्दा यो क्षेत्र वरपरका बासिन्दाका लागि पर्यटकीय गन्तव्य समेत बन्न थालेको छ ।
गुलाव खेतीले स्थानीय स्तरमा रोजगारीका अवसरहरू समेत सिर्जना गरेको छ। कृषक एहसानुल्लाह इरफानकाअनुसार हाल यस क्षेत्रका गुलाव फार्महरूमा करिव १ हजार ५ सय व्यक्तिले रोजगारी पाएका छन् । गुलावका थुँगा टिप्ने र संकलन गर्ने कार्यबाट स्थानीयले दैनिक ज्यालादारी गरी आफ्नो परिवारको गर्जो टारिरहेका छन् ।
अफगानिस्तानको यस क्षेत्रमा बढ्दो गुलाब खेतीले कृषकको आर्थिक अवस्था सुधार्नुका साथै अवैध अफिम खेतीलाई निरुत्साहित गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।




