काठमाडौं ।
बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । बङ्गलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनले नेपाली फोटोपत्रकारहरूलाई अवार्ड प्रदान गर्नुभयो । समारोहमा बङ्गलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारी, ‘दि न्यू नेसन’ का प्रवन्ध सम्पादक अर्शाद होसैन, बङ्गलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गोनी चौधरी र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष एकेएम मोहसिन लगायतको गरिमामय उपस्थिति रहेको थियो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा रहेको नेपाली टोलीका सदस्यहरूलाई सो अवसरमा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष लेखबहादुर ‘सागर’ श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्यहरू मुकुन्द कालिकोटे, अनुप प्रधान र हरिस सिंह नगाल रहेका छन् । यसैगरी, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा र साधारण सदस्य रामशरण ‘अजय’ महर्जनलाई पनि सम्मान प्रदान गरिएको छ । सोही अवसरमा बङ्गलादेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २७ जना उत्कृष्ट फोटोपत्रकारहरूलाई समेत अवार्डद्वारा पुरस्कृत गरिएको थियो । नेपाल र बङ्गलादेशबीचको २१ वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध, “ब्यूटीफुल नेपाल” फोटो प्रदर्शनी तथा फोटोपत्रकारिता सम्बन्धी सेमिनारमा सहभागी हुन पुगेको नेपाली टोलीको सम्मानमा बङ्गलादेश फोटो जर्नालिस्ट्स एशोसिएशन र अवार्ड सम्मान समितिले पहिलोपटक यो कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमले दुई राष्ट्रबीचको पत्रकारितामा सहकार्य, अनुभव आदान–प्रदानका साथै पर्यटन, सांस्कृतिक एवं व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।














