जन्मोत्सवमा वृक्षारोपणदेखि तालतलैया सफाईसम्मः वातावरण संरक्षणमा पोखराको नयाँ मोडल
पोखरालाई विश्वकै सुन्दर र स्वच्छ सहरको रूपमा कायम राख्न महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई एउटा संस्कृतिको रूपमा अघि बढाएको छ । मेयर धनराज आचार्यले संसारभरका पर्यटकहरू आउने सहर भएकाले यसको स्वच्छता र हरियालीलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो । महानगरले खाली जमिनहरूमा पोखराकै रैथाने बिरुवाहरू लगाउनका लागि २ लाख २६ हजार वृक्षारोपण गर्ने अभियान गत वर्षबाट शुरु गरेको छ । यो अभियान अर्को वर्षसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ । यसमा निजी क्षेत्र, संघसंस्था र हरेक नागरिकलाई सहभागी गराइएको छ ।
विशेषगरी ‘आफ्नो जन्मोत्सवमा कम्तिमा २ वटा बिरुवा रोप्नुहोस्’ भन्ने भावनात्मक अभियानले नागरिकहरूमा वृक्षारोपणप्रति ठूलो उत्साह जगाएको मेयर आचार्यले बताउनु भयो । सरसफाईको क्षेत्रमा पनि महानगरले इतिहासमै पहिलो पटक व्यवस्थित कार्ययोजना बनाएको छ । शहरका डिल, भीर, तालतलैया, मूल बाटो, शाखा बाटो र प्रशाखा बाटाहरूको सफाई र व्यवस्थापनका लागि स्पष्ट खाका तयार पारिएको छ । तालहरूको संरक्षण र सफाईका लागि नियमित अभियानहरू सञ्चालन भइरहेका छन् । पोखरालाई केवल बाटो सफा भएको शहर मात्र नभई हरियाली र प्राकृतिक सुन्दरताले भरिपूर्ण शहर बनाउन महानगरले दीर्घकालीन सोचका साथ काम गरिरहेको छ ।




