प्रधानमन्त्रीद्वारा कोशी प्रदेशका सांसदहरुसँग क्षेत्रगत समस्याबारे छलफल, प्राथमिकताका आधारमा समाधान गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

प्रधानमन्त्रीद्वारा कोशी प्रदेशका सांसदहरुसँग क्षेत्रगत समस्याबारे छलफल, प्राथमिकताका आधारमा समाधान गरिने

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकले भोग्नुपरेका समस्या, सुशासन र सेवा प्रवाहको विषयमा कोशी प्रदेशका सांसदहरुसँग छलफल गर्नुभएको छ । प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रुपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमवार सिंहदरबारमा सबै दलका सांसदहरुसँग छलफल गर्नुभएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशका सांसदहरुले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राख्नुभएको थियो । छलफलमा सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सिमित बजेटका कारण प्राथमिकताको आधारमा समस्या समाधान अघि बढ्ने बताएको उहाँको भनाइ छ । रास्वपाकै सांसद इन्दिरा रानामगरले प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचन क्षेत्रका तत्कालिन समस्याको बारेमा ब्रिफिङ लिनुभएको जानकारी गराउनुभयो । उहाँले आफूले झापा–२ मा रहेको पुल निर्माण, सिंचाई तथा तटबन्ध लगायतका विकास निर्माणको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री शाहले स्रोतको सिमिततालाई मध्यनजर गर्दै समाधानउन्मुख हुने बताएको बताउनुभयो ।

Leave a Reply