आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल हारेपछि सुपर आठको होडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित प्राप्त गरेको हो । विश्वकप यात्राको अन्त्य सुखद रूपमा गरेको नेपालले आफ्नो प्रतिष्ठा पनि जोगाएको छ ।

नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा जित प्राप्त गरेको हो । सन् २०१४ मा बङ्गलादेशमा पहिलो पटक टी–२० विश्वकप खेल्दा नेपालले तीनमध्ये दुई खेल जितेको थियो । पहिलो सहभागितामा अफगानिस्तानलाई हराएपछि नेपालले पहिलो पटक विश्वकपमा जितको स्वाद चाखेको हो । बङ्गलादेशमा खेलेपछि १० वर्षपछि टी–२० विश्वकपमा सहभागिता जनाएको नेपाल पछिल्लो संस्करणमा जितविहीन बनेको थियो ।

यसपालि पनि नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रन, दोस्रो खेलमा इटालीसँग १० विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले हारेको थियो । इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज दुई पटकका विजेता हुन् । यी दुई टिम नै समूह ‘सी’ बाट सुपर आठमा पुगेका छन् । नेपालसहित स्कटल्यान्ड र नवप्रवेशी इटालीको यात्रा सुपर आठमै सकियो । सुरक्षाका कारण देखाउँदै बङ्गलादेशले भारत भ्रमण नगर्ने निर्णय गरेपछि आइसिसी वरीयताका आधारमा अन्तिम समयमा स्कटल्यान्डले विश्वकपमा खेल्ने अवसर पाएको हो ।

Leave a Reply