काठमाडौं । इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव अहिले नेपाली क्रिकेट टिम र समर्थकले गरिरहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार दुई पटकको विजेता तथा प्रमुख उपाधि दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले स्तब्ध भयो । पछिल्ला ११ मध्ये १० टी–२० खेल जितेकाले इङ्ग्ल्यान्डलाई उपाधि दाबेदारका रूपमा लिइएको थियो ।
नेपाली समर्थकले भरिभराउ भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा नेपाल टी–२० विश्वकपमा अहिलेसम्मकै स्तब्धकारी नतिजा निकाल्न अन्तिम बलमा एक ठुलो ‘हिट’ मात्र जरुरी थियो । सो समय १९ बलमा ३८ रन बनाएका लोकेश बम स्ट्राइकमा पनि थिए तर सामकरनले फालेको ‘लो फुल टस’ बलमा लोकेशले एक रन मात्र जोड्न सक्नुभयो र इङ्ग्ल्यान्डलाई पहिलो भेटमै हराएर इतिहास बनाउनबाट नेपाल चुक्यो । नेपालले अन्तिम नौ बलमा मात्र १३ रन बनाउन सकेन । अन्तिम ओभरमा करनले मात्र पाँच रन दिएर इङ्ग्ल्यान्डको इज्जत जोगायाे ।
नेपालले टी–२० विश्वकपमा हृदयविदारक क्षणको सामना गरेको यो दोस्रो पटक हो । इङ्ग्ल्यान्डविरुद्ध जितेको भए सन् २०२४ मा दक्षिण अफ्रिकासँग एक रनले हारेको घाउमा मलम लाग्ने थियो । दुई वर्षअघि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा पनि नेपालपछि उपविजेता बनेको दक्षिण अफ्रिकासँग दुई बलमा दुई रन बनाउन नसक्दा निराश बनेको थियो ।
यद्यपि हारपछि पनि नेपालले यस विश्वकपमा सानदार सुरुवात गरेको छ । कुशल भुर्तेलले पावर प्ले गरेको सानदार ब्याटिङ, कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबिच पालिको मध्यभागमा भएको साझेदारी र लोकेशले डेथ ओभरमा गरेको विस्फोटक ब्याटिङ हुँदाहुँदै नेपाल अन्तिम क्षणमा चुकेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८४ रनको बलियो स्कोर तयार पारेको थियो । नेपालले जवाफमा छ विकेटको क्षतिमा १८० रन मात्र बनायो ।
समूह ‘सी’ मा रहेको नेपालले दोस्रो खेलमा बिहीबार इटालीको सामना गर्ने छ । इटाली पहिलो पटक विश्वकपमा खेल्दै छ ।





