काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताउनुभएको छ । पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गर्नुभयो ।
देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गर्नुभयो । उहाँले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताउनुभयो ।
उहाँले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उहाँको भनाई छ । नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको जानकारी दिनुभयो । अध्यक्ष घिसिङकाअनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी हुन् ।
उहाँले यी दुबै पार्टीहरू भाषण गरेर नभई समाजमा काम गरेर आएको पार्टी भएको बताउनुभयो । उहाँले अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । भाषण गरेर देशमा रुपान्तरण नहुने उहाँको भनाई छ । उहाँले आफूहरुले विगतमा पनि काम गरेको र आगमी दिनमा पनि गर्ने बताउनुहुँदै आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।
उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान शुरु गरेको छ । अध्यक्ष घिसिङकाअनुसार मधेश प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति रहेको छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उहाँले धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गर्नुभयो ।





