'युवा पुस्ताको विद्रोहपछि मुलुककाे शान्ति र स्थायित्वमा अन्यौल' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

‘युवा पुस्ताको विद्रोहपछि मुलुककाे शान्ति र स्थायित्वमा अन्यौल’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताउनुभएको छ । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिँदै उहाँले देशमा देखिएकाे समस्या समाधानका लागि सबै नेपालीकाे सहकार्य हुनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, “युवा पुस्ताको विद्रोहपछि मुलुकमा शान्ति र स्थायित्वमा अन्यौलता देखिएको अवस्थामा सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्यबाटमात्रै देशले निकास पाउनेमा विश्वस्त छु।”

उहाँले युवाहरूले उठाएका भ्रष्टाचारको अन्त्य र सुशासनका मागलाई पूरा गर्न सबैको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गर्नुभएको छ ।

सभामुख घिमिरेले परम्परादेखि हर्षोल्लासका साथ घर–घरमा दीप प्रज्वलन गरी मनाइँदै आएको तिहारले सबै नेपालीको जीवनमा उज्यालो, खुसी र आनन्द ल्याओस् भनी कामना पनि गर्नुभएको छ । “दीपावलीले नेपालीहरू बीचको आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भाव अझ बलियो बनाउने प्रेरणा प्रदान गर्ने विश्वास समेत लिएको छु”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “यो उज्यालो पर्वले हामी सबैलाई लोकतन्त्र, संविधान तथा राजनीतिक उपलब्धीहरूको रक्षा गर्दै समुन्नत र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् ।”

Leave a Reply