काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले सरकारले उखु किसानलाई प्रोत्साहन रकम ७५ रुपैयाँ दिने भनेर ७० रुपैयाँ दिने गरिएको पाइएको बताउनुभएको छ । मन्त्रालयमा बुधबार भएको कृषि पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले किसानलाई प्रतिक्वीन्टल ७५ रुपैयाँ अनुदान दिनुपर्ने ७० रुपैयाँ दिएको बताउँदै गतवर्ष त्यसमा पनि आधा कटौती गरेको बताउनुभयो । गतवर्ष ३५ रुपैयाँ मात्रै प्रोत्साहन रकम भुक्तानी भएको उहाँले जानकारी दिनुभयो । के कारणले किसानको रकम कटौती भएको भन्ने बारेमा आफुलाई थाहा नभएको उहाँले बताउनुभयो ।
किसानले ७० रुपैयाँ नै अनुदान माग गरेकोले सरकारले सोहीअनुसार भुक्तानी थाल्न प्रक्रिया थालेको उहाँले जानकारी दिनुभयो । उखु किसानको अनुदान भुक्तानीको लागी थप ८० करोड रुपैयाँ बराबरको दायित्व सरकारलाई थपिने उहाँको भनाइ छ ।
उहाँले दुग्ध विकास संस्थानले पनि ठूलो रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । संस्थानले किसानलाई ५३ करोड रुपैयाँ बुझाउन बाँकी रहेको जानकारी दिनुभयो । दशैँ अगाडी ८३ करोड भुक्तानी गर्न बाँकी रहेकोमा हाल ३० करोड भुक्तानी भएको उहाँले बताउनुभयो । उहाँले किसानले आफूलाई दुधको पैसा कहिले तिर्नुहुन्छ ? भनेर म्यासेज गर्ने गरेको समेत बताउनुभयो । संस्थानले चार महिनाभित्रमा दुधको सबै रकम भुक्तानी गर्ने उहाँको भनाइ छ ।
मन्त्री परियारले कृषि तथा पशु बीमा गर्ने, किसानलाई तरकारी तथा फलफूलको उचित मूल्य दिने, चिया तथा कफी उत्पादनमा प्रोत्साहन गर्ने लगायतका कार्य मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो ।





