काठमाडौँ ।
एमाले मोरङको पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तालाई सम्बोधन गरेकी छन् । औपचारिक कार्यक्रम नराखिएको बताइए पनि एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गरेकी उनले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्न आग्रह गरिन् ।
आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताउँदै भण्डारीले भनिन्, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन पाइनँ । पदबाट निस्किएपछि पार्टी सदस्यता नवीकरण गरेँ ।’४५ वर्षअघि एमालेको सदस्यता लिएको भन्दै उनले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएको स्मरण गर्दै विराटनगर, मोरङ गृहजिल्ला, गृहनगरजस्तो लाग्ने बताइन् ।
नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उनले एमालेको सामान्य सदस्यमात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् ।उनलाई पार्टी कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राईसहितका नेता तथा कार्यकर्ताले स्वागत गरे । भण्डारीले पार्टी कार्यालय परिसरमा रहेको मदन आश्रितको सालिकमा माल्यार्पण गरिन् ।




