काठमाडाैं । सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ ।सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गर्नुभएको हो ।
मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरु समेत नीतिमा समावेश गर्दै जाने बताउनुभयो ।
उहाँले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले संघीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीनवटा बैठक सम्पन्न भइसकेको पनि बताउनुभयो ।
नीतिमार्फत् नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उहाँको भनाइ छ ।
मन्त्रालय मातहतका निकायहरुको मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताउनुभयो । उहाँले सबै निकायहरुको लागि विशिष्टकृत ऐन निर्माणमा मन्त्री सक्रिय रहेको बताउनुभयो ।
भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्वी भएका देशहरुमा सिधा उडान होस् भन्ने धेरै चाहना भएको उल्लेख गर्दै उहाँले त्यहीअनुसार कार्ययोजना बनाइरहेको बताउनुभयो ।





