काठमाडौं । यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो ।
गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो ।
अधिकांश किसान रोपाइँका लागि आकाशे पानीमा निर्भर रहने भएकाले यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको हाे।
कृषि विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म छ लाख २३ हजार एक सय चार दशमलव ४७ हेक्टरमा रोपाइँ भइसकेको छ ।
कृषि मन्त्रालयका अनुसार मुलुकभर झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसतभन्दा बढी वर्षा भएको छ ।





