काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताउनुभएको छ । पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकाले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको बताउनुभयाे ।
उहाँले बन्द कोठाभित्र निजी मन्थन नगरौँ भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उहाँको भनाइ थियो । महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बर्द्धन गर्ने उद्घोष गर्नुभयो ।
उहाँले पार्टी स्थापना दिवसको अवसरमा स्वस्फ्रर्त रुपमा लुटतन्त्र खारेजीको नारालाई सडकमै ल्याउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।





