कांग्रेस महामन्त्रीको गम्भीर आरोप : राष्ट्रपतिका कारण ‘राजतन्त्र ठीक भन्ने जमात बढ्यो’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कांग्रेस महामन्त्रीको गम्भीर आरोप : राष्ट्रपतिका कारण ‘राजतन्त्र ठीक भन्ने जमात बढ्यो’

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढेको गम्भीर आरोप लगाउनु भएको छ।

राष्ट्रपति भण्डारीको पछिल्लो क्रियाकलापले भण्डारी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएकोसमेत महामन्त्री कोइरालाले बताउनुभयो।

‘आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको थियो।’ मङ्गलबार वीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो।

फरक प्रसङ्गमा, उहाँले पार्टीको आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवा संस्थापन पक्षबाट सभापतिको एकल उम्मेदवार हुने र आफूहरूको समूहबाट सभापतिको उमेदवारको टुङ्गो भइनसकेको बताउनुभयो।

‘उम्मेदवार को भन्ने छलफल भइरहेको छ र कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि ‘म’ होइन ‘हामी’ भनेर लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुन्छ र अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इतरको पक्ष एक ठाँउ हुनुपर्छ।’

कांग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि महामन्त्री कोइरालाको भनाई छ। यससँगै, उहाँले महाधिवेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाउनुभयो।

कार्यक्रममा केन्द्रीय सदस्यहरू दिलबहादुर घर्ती, बद्रि पाण्डे र गगन थापाले वीपी कोइरालाको योगदानबारे चर्चा गर्नुभएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);