प्रदेश २ : प्रदेश सभाको पहिलो बैठकका लागि तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

प्रदेश २ : प्रदेश सभाको पहिलो बैठकका लागि तयारी तिब्र

आइतबार जनकपुरमा प्रदेश नम्बर २ को पहिलो प्रदेश सभाको बैठक बस्दै –

जनकपुर, २० माघ । प्रदेश नम्बर २ को प्रदेश सभाको पहिलो बैठकका लागि जनकपुरको शिक्षा कार्यालय स्थित शैक्षिक तालिम केन्द्रको भवन मर्मत सम्भार तथा रंगरोगनको काम द्रुत गतिमा भईरहेको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले प्रदेश सभाको पहिलो बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यालयका प्रमुख गंगा यादवले व्यवस्थापिकाको कामकारबाही शैक्षिक तालिम केन्द्रमा हुने बताए ।

यता, प्रदेश प्रमुख तथा मुख्यमन्त्री एवम् मन्त्रीहरुको निवासका लागि जनकपु्र चुरोट कारखाना लिमिटेडको कार्यालयलाई मर्मत गरिएको उनले बताए ।

प्रदेश सभाको व्यवस्थापिका र कार्यपालिकाको लागि छनोट गरिएको भवनहरुको मर्मत सम्भार, फर्निचर, लाइट तथा रंगरोगनका लागि डिभिजन कार्यालयले ५५ करोड रुपैयाँ माग गरेको थियो ।

तर, सरकारले पहिलो चरणमा ७ करोड ५० लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ । त्यही रकममा तत्कालको लागि काम थालिएको प्रमुख यादवले बताए । पुँजीगत सुधारका लागि ५ करोड दिइएको बताउँदै यो रकम पर्याप्त नभएको उनले गुनासो गरे ।

यहि माघ २१ गते जनकपुरमा हुने प्रदेश नम्बर २ को पहिलो प्रदेश सभाको बैठकका लागि फर्निचरका सामानहरुको काम भईरहेको छ । त्यस्तै कार्यपालिकाको लागि जनकपुर चुरोट कारखानामा पनि काम जारी रहेको उनले बताए । कार्यपालिकातर्फ प्रदेश प्रमुख, प्रदेश प्रमुख सचिवालय, मुख्य मन्त्री र मन्त्रीको आवास तथा कार्यकक्षको समेत तयारी भईरहेको छ ।

व्यवस्थापिका तर्फ सभामुख, उपसभामुख, संसदीय समिति तथा कर्मचारीहरुको आवास र कार्य कक्ष शैक्षिक तालिम केन्द्र र जिल्ला शिक्षा कार्यालयको भवनमा रहने उनले बताए । यता, प्रदेश सभाको सुरक्षाका लागि ३ तहमा सुरक्षा व्यवस्था रहने धनुषा प्रहरीले जनाएको छ ।