अर्काको सहयोगमा भरपर्दा दिगो विकास र आत्मनिर्भर बन्न सकिदैन | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

अर्काको सहयोगमा भरपर्दा दिगो विकास र आत्मनिर्भर बन्न सकिदैन

२०८२,१,२८

नेपालका केही बौद्धिक समुदायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लामो समयदेखि आफ्नो पौरखमा नभइ, सधैं अरुको आशमा बाँच्ने परनिर्भिर बनायो । गैरसरकारी संस्थाहरुले विकासका लागि सहयोग गर्ने नाममा नेपाली संस्कृति र मौलिक ज्ञानमा आधारित परम्परा नै तोडमोड गराए । ती संस्थाहरुले हाम्रो आवश्यकता र समस्याभन्दा सदैव उनीहरुको स्वार्थमा मात्र केन्द्रित भएकाले हाम्रो उन्नति नभइ, झन् झन् भताभुङ भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विकासमा नाममा नेपाली नेपालीबीच रहेको भावनात्मक एकतामा विभाजन मात्र गरेनन् एक आपसमा भीडन्त नै गराए । मिलेर बसेका नेपाली नेपालीबीच जातीय विभेदका नाममा समाज भाड्ने भुसको आगो सल्काए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले नेपाल र नेपालीको आवाश्यकतालाई भन्दा आफ्नो स्वार्थ मात्र सिद्धि गरेर नेपाली परम्परा,ज्ञानसीपमा आधारित घरेलु आयआर्जनका कुटिर तथा घरेलु काम बन्द गराए । बौद्धिक बर्गसमेत अर्काले सहयोग देला र खाउला भन्ने आशामा सधैभरि कागजी विकासका शब्दजाल बुन्न खप्पिस भए । आखिर अहिले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले आफनो स्वार्थपूरा भएपछि नेपालबाट सरक्क हात झिक्दा बौद्धिक बर्गका विकासका हिजोका शब्दजाल पानीका फोका जस्तै विलाए । केही वर्षअघि नै यी संस्थाहरूको कार्यशैली र प्रभावकारितामा प्रश्न नउठेका भने होइन । तर ती संस्थामा काम गर्ने नेपाली बौद्धिक बर्गले नै प्रश्न गर्नेलाई धारे हात लगाएर विरोध गर्थे । नेपाली, नेपालीबीच विभाजन गराएर दातृ संस्थाहरुले आफ्नो स्वार्थको रोटी सेकको हाम्रा बौद्धिक बर्ग कहलिएकाहरुले थाहै पाएनन् । हामीले स्थानीय आवश्यकता पूरा होला कि भन्ने आशमा कसैको सहयोग लिएर गरिएका कुनै काम दीगो र भरपर्दो भएनन् । स्थानीय संस्थाहरू गैरसरकारी संस्थाको निर्देशन र बजेटमा यति निर्भर बनेकि तिनीहरूको आत्मनिर्भर बन्ने बाटो र आँखा नै बन्द गरियो । उदाहरणका लागि, कुनै दुर्गम गाउँमा एउटा दातृ संस्थाबाट विकासको परियोजना सुरु भयो भने दुई वर्ष चलेपछि तेस्रो वर्ष बजेट सकिँदा त्यो परियोजना नै एक्कासि बन्द गरियो । यसले गाउँमा आशा त जगायो, तर दीर्घकालीन समाधान दिन सकेन । गैरसरकारी संस्थाहरुले नेपालमा भ्रष्टाचार र अनियमितता यति धेरै बढाए कि परियोजना स्वीकृति र अनुगमनका लागि सरकारी कर्मचारीलाई लाखौं रकम घुस र भत्ता दिएर लोभ्याए । गैरसरकारी संस्थाले सिकाएको यो सीप कर्मचारीतन्त्रले गरिब नेपालीको साधारण काम पनि अल्झाएर अतिरिक्त आम्दानी अर्थात घुस नखाइ काम गर्नु हुन्न भन्ने भावनाको बिजारोपण गराए । घुस दिएर पारित गरिएका परियोजनाको पारदर्शिता र जवाफदेहितामा जतातै प्रश्न उठे तर नेता र कर्मचारीले खल्तीमा दाम भेटेकाले कारबाही कसैलाई भएन । यो परिपाटी आफ्नै बजेटबाट बनेका हाम्रा योजनामा पनि देखिएको छ । गैरसरकारी संस्थाहरुले हाम्रो नीति निर्माणमा यतिधेरै प्रभाव पारे कि मन्त्री र सांसदसमेत देशको कानुन बनाउन छाडेर भत्ता धेरै पाउने लोभमा गैरसरकारी संस्थाका गोष्ठीमा कुदे ।जसले राष्ट्रियता, स्वाधीनता र हाम्रो प्राथमिकतामा असर पुर्याएको ख्यालै भएन । प्रजातन्त्र स्थापनापछि नेपालमा गैरसरकारी संस्थाले गरेको सकारात्मक कामभन्दा विकृति र विसंगति बढी भएकाले यसको छानविन हुन आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विनाको विकास, हाम्रो आजको आवश्यकता हो । माउन्टेन टेलिभिजनका लागि राजनीतिक व्यूरोको रिपोर्ट ।

Leave a Reply