माघ २८ सोमबार ।
कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब रुपैयाँभन्दा धेरैको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गएको आर्थिक वर्ष २०८०र८१ मा चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसीरबोका र दुग्धजन्य पदार्थ निकासी भएको हो ।
आर्थिक वर्ष २०७९र८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँको खाद्यन्न, फलफूल तथा खसी बोका निकासी भएको थियो ।विशेषगरी कर्णालीबाट खाद्यन्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ ।
त्यस्तै तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलुलगायतका वस्तु पनि निकासी हुने गरेको छ ।यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाण्डौ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।
यसैगरी, पशुपन्छीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले दुई अर्ब ३० करोड रुपैयाँ वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपन्छीअन्तर्गत खसीरबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोड रुपैयाँको आम्दानी हुने गरेको पशुपन्छी निर्देशनालयले जनाएको छ ।यस्तै अहिले कर्णालीमा वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको छ । सरकारले दूधमा अनुदान दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो ।




