होस्टेलमा घुँडा टेकेर झुण्डिएको अबस्थामा शालिनको मृत्यु,हत्या भएको आफन्तको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

होस्टेलमा घुँडा टेकेर झुण्डिएको अबस्थामा शालिनको मृत्यु,हत्या भएको आफन्तको आरोप

काठमाडौं,१८ फागुन । गोरखा मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । त्यहाँको वस्तुस्थिति हेर्दा उक्त घटना आत्महत्या नभएर बलात्कारपछि हत्या भएको उनको दाबी छ । उनले भने, ‘लास झुन्डिएको अवस्था र त्यहाँका वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने दाबी अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो ।’

घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालिनकी रुममेट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि समेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौं भन्दा प्रहरीले स्कुल परिसरभित्रै आफ्ना भाई हरि पोखरेललाई निर्घात कुटपिट गरेको मृतकका बाबु दिपेन्द्रले बताए ।

आफू काठमाडौंमा भएको बेला उक्त घटना घटेको जानकारी विद्यालयबाट आएको र ‘म नआईकन कुनैपनि प्रक्रिया अगाडि नबढाउनुस्, म दुई घण्टामा आइपुग्छु’ भनेर विद्यालय प्रशासनलाई जानकारी गराउँदा त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले विभिन्न क्रियाकलाप भइसकेको उनको दाबी छ ।

आफू त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’को ढोका फोडिएको र घटना भएको ठाउँमा सरसफाइ गरिएको उनको भनाइ छ । साथै, शालिनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा आफूले फेला पारेको र उक्त कुराको भिडिओ फुटेज आफूसँग सुरक्षित रहेको उनले बताए । ती सबै काम प्रमाण नष्ट पार्ने उद्देश्यले भएको उनको भनाइ छ ।

सो घट्नामा आफ्ना भाइ हरिलाई प्रहरीले निर्घात कुटपिट गरेको र बढी बोलेमा गोली हानी मारिदिन्छौ भनेर प्रहरीले नै धम्की दिएको उनले बताए । उक्त घटनामा आफूले शंकाको घेरामा रहेका विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेलविरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले नाम हटाएर ल्याउन भनेको उनले बताए । मृतकका बाबु दिपेन्द्रले आफ्नी छोरीलाई यिनै तीन जनाले बलात्कार गरी हत्या गरेको दाबी गरे ।

साथै, विभिन्न दबावका बीच उक्त घट्नामा चार दिनपछि प्रहरीले जाहेरी लिएको उनले बताए । मृतक शालिनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गराउन आफूले शव बाहनमा ल्याएको र पोस्टमार्टम भएपनि शव अहिलेसम्म नबुझेको उनले बताए । त्यहाँको प्रहरी प्रशासनले निष्पक्ष छानबिन गरेर आफूलाई न्याय दिन्छ भन्ने कतिपनि विश्वास नरहेको बताउँदै उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मार्फत उक्त घटनाको छानबिनको माग गरे । मृतक शालिनका साथीहरूलाई समेत अहिले सम्पर्कमा आउन दिएको उनको भनाइ छ । स्रोतः सुदर्शन

Leave a Reply