१४ वर्षीया शलिन पोखरेलको हत्या की आत्महत्या ! | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

१४ वर्षीया शलिन पोखरेलको हत्या की आत्महत्या !

काठमाडौं,२० फागुन । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिका शालीन पोखरेलको मृत्यु प्रकरणमा वैज्ञानिक तथ्यका आधारमा अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

घटनाका विषयमा सञ्चारमाध्याम तथा सामाजिक सञ्जालमा फरकफरक धारणाहरु सार्वजनिक भइरहेकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै चितवन प्रहरीले घटनाको अनुसन्धान प्रभावित हुने गरी कुनै पनि सामाग्रीहरु सम्प्रेषण नगर्न अनुरोध गरेको छ । चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले शनिबार एक सूचना जारी गरी वैज्ञानिक तथ्यका आधारमा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको र वैज्ञानिक परीक्षणको रिपोर्ट हालसम्म प्राप्त नभइसकेको अवस्थामा अनुसन्धानमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गर्नुभएको हो ।

यही फागुन १२ गते भएको उक्त घटनाबारे परिवारकातर्फबाट बलात्कारपछि हत्या भएको आरोपमा किटानी जाहेरी समेत परेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल बालहरि देवकोटासहित तीन जनालाई पक्राउ गरेको छ । स्कुल पक्षले भने आत्महत्या गरेको दावी गर्दै आएको छ ।

कक्षा ८ मा पढ्दै गरेकी शालीनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको घटनालाई लिएर अहिले उनको परिवारले आत्महत्या नभएर हत्या नै भएको दाबी गरेको छ । प्रहरीले भने यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताउदै अनुसन्धामा प्रभाव पार्नेगरी कुनै सामग्रीहरु सम्प्रेषमण नगर्न अग्रह गरेको छ ।

शनिवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ।’ चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ।’

अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन्। प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ। उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको हो।

सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा–आमा शालीन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। यो १० वर्षमा शालीन ८ वर्ष मामाघर बसिन्। होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदै थियो। बाहिर आएजस्तो उनको बलात्कारपछि हत्या भएकोतर्फ अहिलेसम्म कुनै तथ्यले साथ दिएका छैनन्। परिवारले यहाँ पोस्टमार्टम गर्न नमानेकाले शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेका छौं,’ भण्डारीले भने, ‘रिपोर्ट आएपछि थप तथ्यहरू खुल्नेछन्।’ पोष्टमार्टमले मृत्यु के–कसरी भयो भन्ने यकिन गर्न मद्दत गर्दछ। त्यसमा अस्वाभाविक मृत्यु देखिए अनुसन्धानले अर्को मोड लिन्छ। यसैगरी, मृतकको भिसेरा (मुटु, कलेजो र फोक्सो)सहित शरीरको फरेन्सिक जाँच गरिएको छ।

त्यसपछि शरीरमा कुनै चोटपटक, बलात्कार वा ज्यान मार्नेसम्मको घातक प्रयास भएको छ÷छैन पत्ता लाग्छ। शालीन चार वर्षको उमेरदेखि रत्ननगर–१२ स्थित मावलीमा बस्दै आएकी थिइन्। उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन्। उनका बुवा–आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए। उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन्। ‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेनमार्फत् फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने।

शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ। घाँटीमा डोरीको डाम छ। शरीरका अन्य भागमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै बाहिरी चोटपटक भेटेको छैन। सुरूमा बलात्कार भएको नदेखिएकाले रिपोर्ट आएपछि नै सबै कुरा जानकारीमा ल्याइने प्रहरीले जनाएको छ।परिवारका सदस्यले शालीनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन्। प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);