काठमाडौं,११ माघ । अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्रतिष्ठित रामलल्लाको मूर्ति बनाउने अरुण योगीराजलाई बुधबार बेंगलुरु पुगेपछि न्यानो स्वागत गरिएको थियो। अयोध्या टेम्पल ट्रस्टले छानेका अन्तिम तीन मूर्तिमध्ये योगीराजको मूर्ति थियो।
योगीराज केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने बित्तिकै ठूलो संख्यामा भाजपा कार्यकर्ता उनको स्वागत गर्न माला लिएर जम्मा भएका थिए। भाजपाका कार्यकर्ताहरूले जय श्री राम र योगीराज जिंदाबादको नाराका बीच उहाँमाथि फूलको वर्षा गरे। उनीहरुले भने,‘मूर्तिकारले भगवान श्रीरामको मूर्ति बनाएर राज्य र मैसुरुलाई गौरवान्वित गरेका छन् ।’
घटनास्थलमा उपस्थित योगीराजकी पत्नी विजयाले श्रीमानले इतिहास रचेकोमा खुसी व्यक्त गरेकी छन् । म्यासुरुका एमबीए स्नातक योगीराजले अयोध्या मन्दिरका लागि राम लल्लाको ५१ इन्चको प्रभावशाली प्रतिमा, इन्डिया गेट नजिक नेताजी सुभाषचन्द्र बोसको २८ फिट अग्लो प्रतिमा र आदिगुरु शंकराचार्यको १२ फिट अग्लो मूर्ति बनाएका छन् । सबै मूर्तिको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् ।




