काठमाडौं, ३ पुस ||
हेटौँडा र उदयपुर सिमेन्ट उद्योगमा राज्यले २ अर्ब रुपैयाँ लगानी नगरे उद्योग बन्द हुने भएका छन् । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रवन्धकले यस्तो बताएका हुन् । उनीहरुले दुवै सिमेन्ट उद्योगको वित्तीय अवस्था जर्जर रहेकाले उद्योग सञ्चालनको लागि राज्यले लगानी गर्न आवश्यक रहेको बताए । उनीहरुले सिमेन्ट उद्योगको दायित्व अत्याधिक बढेको तर उत्पादन वृद्धि गर्न मेसिन तथा औजारहरु पुराना भएको बताए । उनीहरुले उद्योगहरुमा राज्यले लगानी गरी अपडेट गर्न नसके अहिलेकै अवस्थामा चल्न नसक्ने गुनासो गरे । उनीहरुले उदयपुर सिमेन्ट उद्योगमा ४० करोड र हेटौँडा सिमेन्ट उद्योगमा १ अर्ब ६० करोड गरी दुई अर्ब लगानी नगरे उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । उनीहरुले सरकारले तत्कालको लागि उदयपुर सिमेन्ट उद्योगमा उक्त रकम लगानी गरी ‘मोडल’ परिवर्तन गर्नु आवश्यक रहेको बताए । बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष केशवकुमार बस्नेतले अहिलेकै अवस्थामा उदयपुर सिमेन्ट उद्योग चल्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले उदयपुर सिमेन्टमा लगानी गरी ताजकीकरण गर्न नसके चलाउन नसकिने बताउनु भयो । उहाँले सरकारले तत्कालको लागि ४० करोड रुपैयाँ लगानी गरे १० अर्बको सम्पती बचाउन सकिने अवस्था रहेको बताउनु भयो । उहाँले धेरै पुरानो मेसिन भएकाले उद्योग चल्दाचल्दै बन्द गर्नुपर्ने समस्या रहेको बताउनु भयो । अध्यक्ष बस्नेतले एक महिनामा ३ देखि ४ पटकसम्म मेसिन बिग्रने गरेको भन्दै एक पटक मेसिन बनाउँदा १६ लाखसम्म खर्च हुने बताउनु भयो । उहाँले उद्योगको मेसिन अपडेट गर्न नसक्ने हो भने उद्योग चलाउनसक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले उद्योगमा रहेका ७ सय कर्मचारी घटेर अहिले २५८ जना रहेको बताउनु भयो ।
त्यस्तै, हेटौँडा सिमेन्टका महाप्रवन्धक वसन्त पाण्डेले हटौँडा सिमेन्ट उद्योग हेटौँडा कपडा कारखाना जस्तै हुन लागेको बताउनु भयो । उहाँले आफूले जिम्मेवारी सम्हाल्दा सम्हाल्दै उद्योग मर्दै गएको स्पष्ट पार्नुभयो । उहाँले उद्योगको उत्पादन र बजार भन्दा पनि उद्योगको दायित्व बढ्दै गइरहेको बताउनु भयो । उहाँले २५ जना कर्मचारीहरु अवकाश पाएकाहरुलाई उपदान दिन समेत नसकिएको बताउनु भयो । उहाँले अहिले सरकारको ऋण भुक्तानी गर्न नसकिएको बताउनु भयो । उहाँले सरकारको १२ करोड रुपैयाँको ऋणको ब्याज ३३ करोड गरी ४५ करोड रुपैयाँ कर्जा तिर्न बाँकी रहेको बताउनु भयो । उहाँले उद्योग निरन्तर चल्दा मासिक साढे दुई करोड विद्युत महशुल प्राधिकरणलाई बुझाउनु पर्ने बताउनु भयो । उहाँले पैसाको अभावमा कोइला किन्न समेत नसकिएको बताउनु भयो । उहाँले हेटौँडा सिमेन्ट उद्योगको अवस्था जर्जर रहेको भन्दै उद्योग चलाए वा नचलाए पनि घाटामा रहने अवस्था रहेको बताउनु भयो । उहाँले अहिले सिमेन्टको बजार ७० प्रतिशत खस्केको बताउनु भयो । उहाँले ऋणमा उद्योग चलाउन बैंकहरुले ऋण समेत नदिएको गुनासो गर्नुभयो । उहाँले सरकारले उद्योगमा लगानी नगर्ने हो भने चल्न सक्ने अवस्था नभएको उल्लेख गर्नुभयो । उहाँले अहिलेको अवस्थामा उद्योग नचल्ने भन्दै पुरानो टेक्नोलोजी परिमार्जन गर्न सरकारले एक अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराए मात्रै उद्योग चल्ने बताउनु भयो । उहाँले लगानी थपिएर पनि मोडल परिवर्तन गर्न नसके उद्योग बन्द हुने जिकिर गर्नुभयो ।
बैठकमा बोल्दै अर्थ मन्त्रालयका सचिव कष्णहरी पुस्करले हेटौडा सिमेन्ट उद्योगले बजार र व्यापारको ग्यारेन्टी नगरे लगानी गर्न नसकिने बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले संसदले बजेटमार्फत छुट्याएको भन्दा बाहिरबाट बजेट व्यवस्थापन गर्न नसकिने अवस्था रहेको बताउनु भयो । उहाँले यस्तो अवस्थामा कर्मचारीको तलव भत्ता समेत व्यापारबाट दिन नसक्ने उद्योगमा लगानी गर्दा ग्यारेन्टी कसले लिने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले कर्मचारीको पारिश्रमीक दिन नसक्ने उद्योगमा लगानी गर्न नसकिने आशय व्यक्त गर्नुभयो । हेटौँडा सिमेन्ट उद्योगले राष्ट्र बैंकलाई जग्गा बेचेर कर्मचारीहरुको तलव भत्तामा खर्च गर्ने कुरा आइरहेको बताउनु भयो । उहाँले उद्योग चलाउन अर्थ मन्त्रालयले केही रकम व्यवस्थापन गरिदिएपछि पनि त्यसको दिगोपनको जिम्मा कसले लिने भन्ने समस्या रहेको बताउनु भयो । उहाँले सरकारले पैसा दिने तलव भत्तामा खर्च गर्ने र मेसिन, औजारहरु सबै पुरानै अवस्थामा राख्ने जस्ता कुराहरु परिमार्जन गर्न समितिले निर्देशन दिन आवश्यक रहेको बताउनु भयो ।
उहाँले उद्योगले व्यापार सुधारको ग्यारेन्टी गरे सरकारले ऋण दिन तयार रहेको पनि बताउनु भयो । उहाँले देशको आर्थिक अवस्था बलियो बनाउन आन्तरिक रकमले नपुगे पनि वैदेशिक ऋण गरेर अर्थ मन्त्रालय ऋण दिन तयार रहेको बताउनु भयो ।
राज्यले २ अर्ब लगानी नगरे हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुन्छ
ताजा समाचार
भक्तपुरको विस्केट जात्राअन्तर्गत आज लिङ्गो ढालिँदै
१२ मिनेट अघि
कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर
१९ घन्टा अघि
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
२० घन्टा अघि