काठमाडौं, १८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताउनुभएको छ ।
आईतवार महाकाली—मेची अभियानअन्तर्गत दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गर्नुभयो । उहाँले एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गर्नुभयो । उहाँले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरु लोकतन्त्रबिरोधी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रबिरोधी हो, त्यो जनतालाई गरिव राख्न खोज्ने कुरा हो । आज लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध कसैले बोल्छ भने सोच्छ भने त्यो नेपाल र नेपालीका हीतमा बोलिरहेको छैन, सोचिरहेको छैन । नेपाल र नेपालीको हित विपरित सोचिरहेको छ । एमाले हटाएको अढाई वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आयो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महंगी बढ्यो । युवाहरु विदेशिनुपर्ने, रोजगारी नपाउने अवस्था बन्यो । एमाले सरकारमा छँदा गरिबी घटेको थियो । रोजगारी बढेको थियो । युवाहरु बाहिर जाने क्रम घटेको थियो । देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिन्छ, अनिमात्रै देश बनाउन, विकास गर्न, सुशासन ल्याउन सकिन्छ । जनता अहिलेको गठबन्धन सरसकारबाट वाक्क व्यक्क र दिक्क भइसकेको यी ४ दिनमा देखको छु ।’
अध्यक्ष ओलीले महाकाली—मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको बताउनु भयो ।




