काठमाडौं,३ मंसिर । आज १९ नोभेम्बर । अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ । यस वर्ष ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमकासाथ शौचालय दिवस मनाउने गरिएको छ ।
सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ । मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ ।
तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु¥याउनमा प्रगति भने सुस्त गतिमा छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो । राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन् ।
खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ७ वर्षमात्र बाँकी छ । नेपालले १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा गरेको थियो ।