टीका खतिवडा ||
इलाम, २६ भदौ ||
संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको मृत्यूले ईलाम शोकमा डुबेको छ । इलाम क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसदसमेत रहनु भएका नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको हो । विसं २०५६ सालदेखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनु भएका उहाँ हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो ।
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताकाको मुल मन्त्र सहित अघि बढ्नु भएका उहाँ इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनु भएको थियो । नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिनु भयो । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेलसमेत पर्नु भयो । २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य समेत हुनुभयो । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नु भयो ।
विसं २०५६ को संसदीय निर्वाचन जितेर नेम्वाङ सार्वजनिक लेखा समिति सभापति बन्नु भयो । उहाँ जनआन्दोलन विसं २०६२÷६३ को जनआन्दोलनको सफलतासँगै पुनःस्थापित प्रतिनिधिसभाको सभामुख समेत हुनुभयो । नेम्वाङ २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभयो । हाल पनि उहाँ इलाम क्षेत्र नम्वर दुईबाट निर्वाचन जितेर नेकपा एमालेको संसदिय दलको उपनेता हुनुहुन्थ्यो ।
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक अभियान्ता, विद्यार्थीलगायत सम्पुर्ण जिल्लाबासीले दुःख व्यक्त गरेका छन् । नेकपा एमाले इलामले उहाँको मृत्यूले सिंगो अभिभावक गुमाएको बताएको छ । एमाले इलामका सचिव उमेश गुरुङले उहाँको मृत्यूले सिंगो नेपाली राजनितिम समेत क्षति पुगेको बताउनुभयो ।
नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको नेपाली कांग्रेस इलामका पूर्व जिल्ला सचिव राजेन्द्र शर्माले बताउनुभयो ।
यस्तै उहाँको मृत्यूले देश र जनताका लागि अतुलनिय क्षति भएको देशले नै शोक मनाइरहेको माओवादी केन्द्र इलामका कार्यालय सचिव तथा प्रदेश परिषद सदस्य प्रकाश परियारले बताउनुभयो ।
किरात याक्थुम चुम्लुङका संस्थापक समेत रहनु भएका नेम्वाङले संविधान जारी गर्ने क्रममा उहाँको महत्वपूर्ण योगदान रहेको किरात याक्थुम चुम्लुङका संघिय सचिव अभिषेक एक्तेनले बताउनुभयो ।
एमालेले पार्टीको झण्डा आधा झुकाउनुका साथै तिज कार्यक्रमसहित अन्य निर्धारित सम्पुर्ण कार्यक्रम रद्ध गरेको एमाले इलामका उपसचिव रविन्द्र सुवेदीले बताउनुभयो ।