आज काठमाडौंका विभाग, आयोजना, कार्यक्रम, सचिवालय, एकाई र वडा कार्यालयहरु बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

आज काठमाडौंका विभाग, आयोजना, कार्यक्रम, सचिवालय, एकाई र वडा कार्यालयहरु बन्द

काठमाडौँ, २२ भदौ । वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । आर्य घाट लैजानुअघि महानगरपालिकाले उनको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिक सरीरलाई राष्ट्रिय सभा गृहमा राखेको थियो । त्यहाँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले स्व. रिजालको पार्थिव सरीरमा महानगरपालिकाको झण्डा ओढाएका थिए ।

त्यसपछि महानगर प्रहरी बलको सवारी साधनमा शव यात्रा गरिएको थियो । अन्तिम संस्कार गर्नुअघि पशुपति क्षेत्रमा नेपाली कांग्रेस पार्टीले अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । त्यहाँ श्रद्धाञ्जलीका लागि पार्टी अध्यक्ष शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापासहित नेताहरु पुगेका थिए ।

आज भदौ २२ गते शुक्रबार महानगरले रिजालको निधनमा शोक विदा दिइएको छ । आज विभाग, आयोजना, कार्यक्रम, सचिवालय, एकाई र वडा कार्यालयहरुलाई विदा दिइएको हो ।

रिजालको मृत्युका विषयमा धापासीस्थित ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै, उहाँ भदौ १७ गते आइतबार दिउँसो १ बजे उपचारका लागि अस्पताल भर्ना हुनु भएको उल्लेख गरेको छ । दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरस निमोनिया) भएकोले सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा एक्युट रेस्पिराटोरी डिस्ट्रेस डिन्ड्रोम (एआरडीएस) भएर रिफ्याक्टोरी स्पेटिक सक/एक्युट किड्नी इन्ज्युरी भएर उपचारका क्रममा आज विहान ७ बजेर ३० मिनेटमा उहाँको मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

रिजालले गत स्थानीय चुनावमा उनले नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा प्रतिस्पर्धा गरेका थिए । स्पष्ट वक्ताका रुपमा परिचित रिजाल कार्यपालिकाअन्तर्गतको पूर्वाधार समितिको संयोजक थिए ।

पिता मेघनाथ र माता राधादेवीको सन्तानका रुपमा उनको जन्म २०२७ साल कार्तिक १९ गते धादिङ् जिल्लामा भएको थियो । उनी मातापितासँगै श्रीमती कविता, छोराहरु सन्देश र सार्थकका साथमा बस्दै आएका थिए ।

Leave a Reply