काठमाडौं । काठमाडौंमा आगामी शनिवार “काठमाडौं युथ कनक्लेभ २०२३” हुने भएको छ ।
युवाहरुलाई देशको चौतर्फी विकासमा योगदान पु¥याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले कनक्लेभ हुन लागेको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युथ कनक्लेभ हुन लागेको जानकारी गराइएको हो । युनीभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेण्टको संयुक्त आयोजनामा हुन लागेको कनक्लेभमा करिव ५ हजार युवायुवतीहरुको सहभागिता हुनेछ । युवा समुदायलाई एउटै मञ्चमा ल्याइ विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रूपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप र अनुभवलाई युवावर्गहरुमा साझा रुपमा प्रश्तुत गरिने आयोजक संस्थाले जनाएको छ । फिनिक्स कलेज अफ म्यानेजमेन्ट र युनिभर्सल कलेजका नेटवर्क डाइरेक्टर राजु टण्डनले युवा उद्यमी र उद्यमशीलतालाई प्रवद्र्धन गर्न स्टार्टअप पभेलियन समेत गरिने बताउनु भयो । उहाँले यो युवासँग सम्बन्धीत महत्वपूर्ण इभेन्ट रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो युवासँग सम्बन्धित ठूलो इभेन्ट हो । सन् २०१९ देखि इभेन्ट गर्दै आएका छौँ । नेपालभरका युवालाई एउटै थलोमा भेला पारेर इन्स्पीरीयसनको सेसन, म्युजिक, फनसहित एक दिनको फेस्टीबल आयोजना गरेका हौँ । यो इभेन्ट आगामी शनिबार हुनेछ । ख्याती प्राप्त १२ जना व्यक्तिहरुलाई कार्यक्रममा निमन्त्रणा गरेका छौँ । उहाँहरुले आफ्नो स्टोरी, जर्नी, लाइफको बारेमा बोलिदिनुहुन्छ । जसले गर्दा विद्यार्थीहरुलाई उत्प्रेरणा ममिलोस् । नेपालमानै बसेर केही गर्न सकियोस् भन्ने प्रेरणा मिलोस् । नेपालमानै बसेर सन्दुक रुइत जस्तो मान्छे हुन सकिन्छ । नेपालमा बसेर सन्तोष शाह जस्तो हुन सकिन्छ भनेर बच्चाहरुलाई नेपालमानै बसेर प्रेरणा मिलोस्, नेपालमा राम्रो गर्नुहोस्, नेपालमा आफ्नो भविष्य हेर्नुहोस् भन्ने तात्पर्यले नै इभेन्ट आयोजना गरेका छौँ । ’
प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कनक्लेभमा १६ देखि २५ वर्ष उमेरसमूहका सहभागिता हुने अपेक्षा गरिएको छ ।