संसद्को अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

संसद्को अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने तयारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी दिनुभयो । थापाले पौडेल राष्ट्रपति भइसकेपछि सबै दलका नेताहरुलाई सामूहिक रुपमा नभेटेकाले सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि इच्छा गरेको बताउनुभयो ।

उहाँका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाइने छ । सर्वदलीय बैठकका लागि पहिले पनि कुरा भएको भन्दै थापाले आफूहरुसँगको परामर्शपछि राष्ट्रपति पौडेलले बैठक आह्वान गर्ने बताउनुभयो ।

सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले सहजीकरणको प्रयास थाल्नु भएको हो । उहाँले गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि योबीचमा छलफल गर्नुभएको छ । बुधबार मात्रै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर लामो समय संसद अवरोध हुँदा जनतामा निराशा पैदा हुने भन्दै अवरोध हटाउन आग्रह गर्नुभएको थियो ।

Leave a Reply