काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असहाय बिरामीहरुलाई निशुल्क उपचार नगर्ने नीजि अस्पतालहरुलाई कारवाहीको चेतावनी दिएका छन् । साहले विपन्न बिरामीका लागि छट्टुाइएको निशुल्क उपचारको व्यवस्था अनुसारको विवरण प्रत्येक महिनाको १० गतेसम्म नबुझाए कारवाही गर्ने अस्पतालहरुलाई चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत मेयर साहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) अनुसार अस्पतालले निशुल्क उपचार गराउनुपर्ने र स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार समेत स्थानीय तहलाई रहेको स्मरण गराएका छन् ।
महानगरलाई विद्यमान स्वास्थ्य सम्बन्धी ऐन, कानुन र मापदण्डहरू पूर्ण कार्यान्वयन गराउन प्रभावकारी कदम चाल्न विभिन्न क्षेत्रहरूबाट सुझाव प्राप्त भएको छ । उनले लेखेका छन्,‘अस्पतालले दिने सेवा सुविधाहरूको गुणस्तरीयताको बारेमा तोकिएको मापदण्डले प्रस्ट व्यवस्था गरेको सवैमा विदितै छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था रहेका छन् । उक्त कार्यको लागि महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय अनुसार सम्बन्धित सबैलाई यो सूचना जारी गरिएको छ ।’