काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रश्ताव नभएको बताउनुभएको छ ।
शुक्रवार सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा कुनै जोश, जाँगर र सपना नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौति छन् । त्यसलाई ठोस कार्ययोजना छैन । यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन ।’
सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्थामाथिको चुनौतिको समाधान गर्ने कुरा नरहेको उल्लेख गर्नुभयो ।