मोहनाले दिएको दुख | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

मोहनाले दिएको दुख

ईमाउण्टेन । चुरे मुहान भएर बग्ने नदी, ताल तलैया धेरै भएको सुदुरपश्चिमको कैलाली जिल्लाको कैलारी गाउँपालिका जिल्लामा नै सबै भन्दा बाढी प्रभावित क्षेत्र हो । गाउँपालिकाको धेरै स्थान ओगटेको विशेष गरेर मोहना र घुरा नदीका कारण पनि यो गाउँपालिका प्रभावित भएको हो । कैलारी गाउँपालिकाको प्रमुख नदीका रुपमा करिब १५ किलोमिटर लम्बाई ओगटेको मोहना नदी १० किलोमिटरमा धुराहा, गुरही नदी तथा लिक्मा, कटैनी, सुर्मी र मुर्कुला नदी २० किलोमिटर क्षेत्रमा फैलिएका छन् । सातिना छोडेर गाउँपालिकाले सूचीमा नै राखेका तालहरु ३० वटा छन् ।

कैलाली जिल्लाको सबै भन्दा बढी जनसंख्या रहेको यस गाउँपालिकाको कुल २ सय ३३ बर्ग किलोमिटर क्षेत्र मध्ये झण्डै ४३ किलोमिटर क्षेत्र नदीनालाले ओगटेका छन् । ३० बर्ग किलोमिटर क्षेत्र तालतलैयाले ओगटेका छन् । नदीनाला र तालतलैयाको संख्या र तीनले ओगटेको क्षेत्रफलबाट पनि सजिलै भन्न सकिने अवस्था छ कि यो गाउँपालिका बाढी र डुबानबाट निकै प्रभावित क्षेत्र हो । गाउँपालिकाकाले चालु आर्थिक बर्ष २०७९÷८० का लागि विनियोजित रकम ६२ करोड ७५ लाख १५ हजार रुपैयाँ मध्येबाट बन वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड १५ लाख रुपैयाँ छुट्याएको छ ।

संघ र प्रदेशको बाहेक पछिल्लो ३ आर्थिक बर्षमा गाउँपालिकाकाले विपद व्यवस्थापनमा मात्रै डेढ करोड बढी खर्च गरेको छ । बन वातावरण संरक्षण, नदी नियन्त्रण, जैविक तथा भौतिक तटबन्ध लगायतमा २०७८÷०७९ र २०७७ ÷०७८ मा ४ करोड बढी खर्च भएको छ । तर उपलब्धि शुन्य जस्तै छ । प्रत्येक बर्ष मोहना, धुराहा, गुरही लगायत नदीमा आएको बाढीबाट ठूलो क्षति हुने गरेको छ । गाउँपालिकाले विभिन्न गैह्सरकारी संस्थाको सहयोगमा पुर्वसुचना प्रणालीको व्यवस्था गरेकाले मानवीय क्षति रोकिएको छ । तर बाढीले नदी तटिय क्षेत्रका घरै बगाउने भएकाले भौतिक सम्पत्तिको क्षति ठूलो हुने गरेको छ । मोहना नदीले बर्षेपिच्छे धार परिर्वतन गर्ने भएकाले कृषियोग्य जमिन कटान र संभावित बाढीको पुर्वआकलन गर्न नसक्दा समस्या भएको स्थानीय बताउँछन् । मोहनपुर वडा नम्बर ३ का स्थानीय सितल प्रसाद डगौरा उत्तरबाट आएको घुरा नदी र दक्षिणबाट आएको मोहना नदी एकैस्थानमा मिसिँदा बर्षादको समयमा मोहनपुर वस्तीसम्म डुबाने बताउँछन् । उनी भन्छन् “मान्छे ओहोर दोहोर गर्न धेरै अप्ठ्यारो हुन्छ । झोलुङ्ग पुल नभएर । बालबच्चाको पढाई पनि ३ महिना स्थगित हुन्छ । एकपटक बाढीका कारण डुंगा नचल्ने अवस्था हुँदा सुत्केरीको यही ज्यान गुमेको थियो । ठोकर्ना भएर विजुलीको पनि समस्या छ । ”

मोहना नदीले कैलारी गाउँपालिकाको वडा नम्बर ३ मोहनपुरमा सबै भन्दा बढी क्षति पुराउने गरेको छ । मोहनपुर भारतसंग सिमा जोडिएको छ । बर्षादमा नदीमा बाढी आउँदा नेपालसंगको सम्पर्क नै विच्छेद हुन्छ र त्यहाँका स्थानीय भारतीय जंगलमा आश्रय लिन पुग्छन् । उच्च जोखिम रहेको जानकारी पाएर पनि गाउँपालिकाले कमैया लगायत सुकुम्बासीलाई मोहना नदीको तटिय क्षेत्रमा नै बसोबासको व्यवस्था गर्दै आएको छ । बैकल्पिक स्थान नभएकाले त्यसो गर्न परेको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी बताउनुहुन्छ ।

प्रत्येक बर्ष आएको बाढीका कारण गरिबी बढाएको भनेर गाउँपालिकाकाले मालपोत शुल्कमा ५० प्रतिशत मिनाहा दिएको छ । अध्यक्ष चौधरी चुरे मुहान भएका धेरै नदी र तीनको बहावको प्रकृति पनि परिर्वतन भईराख्ने भएकाले पुरै क्षेत्रमा नै तटबन्ध गर्नुपर्ने तर्क गर्नुहुन्छ । तटबन्धमा खर्च बढी लाग्ने भएकाले जोखिमयुक्त वस्तीहरुलाई सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव आफ्नो रहेको उहाँले बताउनुभयो । पछिल्लो समय असार साउनमा नभई असोज कात्तिकमा बाढी आउने गरेकाले काटिसकेको धान पनि भित्राउन नपाउने र घर भित्रको अन्न पनि डुबानका कारण क्षति पुगेपछि जोखिम प्रभावितहरुको आर्थिक अवस्था हरेक बर्ष शुन्यमा पुग्ने गर्दछ । बर्षभरीका लागि जोहो गर्ने धानखेती नै प्रभावित भएपछि पेट पाल्नै समस्या हुने गरेको छ ।

मोहना लगायत चुरे मुहान भएर बग्ने नदीहरुले बर्षेनी ठूलो क्षति पुराउँदै आईरहेका बेला विज्ञहरुले चुरे मुहान भएर बग्ने नदीहरुले पुराउने क्षति न्युनीकरणका लागि नदी बहावको प्रकृति र भौगोलिक अवस्थाको विश्लेषण गरि विपद् व्यवस्थापन योजना बनाउनुपर्ने सुझाव दिएका छन् । विशेष गरेर मोहना नदीले हरेक बर्ष धार परिर्वतन गर्ने गरेको अध्ययनहरुले देखाएको भन्दै सम्बन्धीत विज्ञहरुको परामर्शका आधारमा मात्रै योजना बनाउन सुझाव दिएका हुन् । विपद् विज्ञ डाक्टर गंगालाल तुलाधरले मोहना नदी नियन्त्रणका लागि लगाइएको तटबन्ध लगायतका कामहरु विज्ञान अनुसार हुन नसकेको टिप्पणी गर्नुभयो ।

जलवायुविज्ञ डाक्टर धर्मराज उप्रेति चुरे क्षेत्रको कमजोर संरचना बन विनास, जलवायु परिर्वतनको असर तथा चुरेबाट बग्ने नदीको संरचना विश्लेषण गरेर मात्रै योजना बनाउँदा समस्याको दीर्घकालिन समाधान निकाल्न सकिने बताउनुभयो ।

गाउँपालिकाले हौसलपुर र मोहनपुर जोड्ने मोहना नदीमा झोलुगे पुल निर्माणका लागि संघीय सरकारसंग माग गरेको छ । स्थानीयले पनि पुल निर्माण गरिदै छ भन्ने सुन्न थालेको धेरै भईसक्यो तर पुल निर्माणको काम थालनि समेत भएको छैन । उनीहरु हिउँदको समयमा काठको साँघु बनाएर मोहना नदी तर्ने गर्छन् । नदीमा पानीको बहाव बढेपछि जलमग्न हुन्छ अनि उनीहरुको नेपालसँगको सम्पर्क विच्छेद हुन्छ । मोहनपुरबासी भारतीय सिमा क्षेत्रको जंगलमा गएर ज्यान जोगाउन बाध्य हुन्छन् । भारतको उत्तरप्रदेश सँग सिमा जोडिएको हौसलपुर र मोहनपुरलाई मोहना नदीले अलग बनाएको छ । मोहना नदीको कटानका कारण मोहनपुर एउटा भिन्नै टापुको रुपमा रहेको छ ।

मनसुनको समयमा चुरे क्षेत्र मुहान रहेका नदीहरुमा बाढी आउँदा कैलालीमा प्रत्येक बर्ष ठूलो नोक्सानी पुग्दै आएको छ । गाउँपालिकाको धेरै क्षेत्रफल ओगटेको मोहना नदीले त झन बर्षेनी धार परिर्वतन गर्दा सबै भन्दा बढी प्रभावित नदीको तटिय क्षेत्रमा रहेको बस्ती र कृषियोग्य भुभाग हुने गरेका छन् । खहरे खोला मिसिएर बग्ने मोहना नदीले ढुंगा, ग्रेग्यान र बालुवा ल्याएर थुपार्ने भएकाले बर्षेनी कृषियोग्य जमिन मासिदै गएको छ । त्यसैले नदीको बहाब र प्रकृतिगत संरचनाको अध्ययन गरेर तत्काल बैज्ञानिक आधारमा नदी नियन्त्रणको पहल नगर्ने हो बाढी डुबानका कारण घरबार विहिन हुनेको संख्या बढ्दै जानेछ । यसले अन्ततस् गरिबी न्यूनीकरण गर्ने सरकारको लक्ष्यलाई कागजमा मात्रै सिमित राख्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);