काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले राज्यले संवैधानिक दायित्व बिर्सिएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा, स्वास्थ्य, सामाजिक सेवाको पक्षहरु राज्यको दायित्व भित्र पर्छ भन्ने संवैधानिक व्यवस्था रहेपनि राज्यले त्यो पूरा गर्न नसकेको बताउनु भयो ।
उहाँले यसको प्रमाण हरेक वर्षको शिक्षा क्षेत्रमा घटाइने बजेट रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय परम्परा राज्यको समग्र बजेटको २५ प्रतिशतसम्म बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने प्रावधान रहेपनि नेपालमा भने अझैसम्म २० प्रतिशतसम्म पनि बजेट शिक्षामा छुट्याउन नसकेको बताउनु भयो । उहाँले सरकारले शिक्षालाई महत्व दिन खोजेको हो भने आगामी बजेटमा शिक्षा क्षेत्रका लागि समग्र बजेटको २० प्रतिशत बजेट छुट्याएर देखाउन चुनौति दिनुभयो ।
उपमहासचिव तुलाधरले सामुदायिक शिक्षाको गुणस्तरियता बढाउनका लागि सम्पूर्ण रुपमा सामुदायिक शिक्षामा राज्यले लगानी गर्नुपर्ने र अहिलेको शिक्षाको लगामी दोब्बर बढाउनुपर्ने बताउनु भयो ।