लक्ष्मी न्यौपाने \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, फाल्गुन २१ । प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० वर्षे हिंसात्मक गतिविधिप्रति गर्व गर्नुहुन्छ । त्यसैले उहाँले तेस्रोपटक प्रधानमन्त्री हुँदा जनयुद्ध दिवस नाम दिएर सरकारी क्लालेन्डरमै प्रत्येक वर्ष फागुन १ मा सार्वजनिक बिदा राख्नुभयो । प्रचण्डले २०७६ को माघीमा टुँडिखेलमा हजारौंको अगाडि उभिएर आफूले माओवादीको सशस्त्र गतिविधिका क्रममा मारिएकामध्ये ५ हजारको जिम्मा लिन्छु भन्नुभयो । मानवअधिकारवादी चरण प्रसाईं यसलाई सिधै ५ हजारको हत्याको स्वीकारोत्ति भन्नुहुन्छ ।
सत्ता र शक्तिको आँडमा जस्तो उदण्ड र हिंसात्मक कार्य गरेपनि छुट पाउने परिस्थिति अझै बनिरहेको उदाहरण हो यो । सर्वोच्च अदालतमा प्रचण्डको अभिव्यक्तिपछि फौजदारी अभियोगमा रिट निवदन दायर भएको थियो । तर, सर्वोच्च प्रशासनले त्यसलाई दर्ता गर्न नमिल्ने भनिदियो । तर, शुक्रबार निवेदन दर्ता गर्न आदेश जारी भएको छ । हिंसालाई सभ्य समाजले मान्यता दिदैन । कुनैपनि व्यक्तिले खुलमखुल्ला आफूलाई हिंसाको पक्षपाती देखाउन खोजेर नायक बन्न खोज्नु समाजको कमजोरीमाथि फाइदा उठाउनु हो । हिंसा गर्ने जोकोहीले दण्ड सजाय भोग्नुपर्छ। चाहे त्यो माथिल्लो पदको होस् या सामान्य व्यक्ति नै किन नहोस् । सानालाई ऐन र ठूलालाई चैन स्वीकार्य हुँदैन सभ्य समाजमा ।
नेपाली समाज इमोस्नल छ । कसैले हिंसा वा आपराधिक कार्य गरेपनि कालान्तरमा माफी दिन चाहन्छ । यसैको कमजोरी उठाएर नेताहरुले गल्ती कमजोरी सच्याउनेभन्दा त्यसको वकालत गर्नमै समय व्यतित गरिरहेका छन् । प्रचण्डले ठिक त्यस्तै गर्नुभएको छ । उहाँमा माओवादीको १० वर्षे सशस्त्र गतिविधिले १७ हजारभन्दा बढीको ज्यान गएको पछुतो छैन । बरु उहाँ खुलेआम जनयुद्ध नाम दिएर आफूलाई नायक देखाउन खोज्नुहुन्छ । यो दण्डहीनताको उपज हो ।